काठमाडौं । जर्मनीको सवारीसाधन निर्माता कम्पनी फक्सवागन चालु वर्षको तेस्रो त्रैमासमा थप घाटामा गएको छ । विश्वकै दोस्रो ठूलो सवारीसाधन निर्माता कम्पनी फक्सवागनले प्रमुख बजारमा बढ्दो चुनौतीको सामना गरिरहेको र व्यवसाय पुनर्संरचनाको प्रक्रिया अघि बढाइरहेको समयमा एक दशकभन्दा बढी अवधिकै खराब वित्तीय नतिजा सार्वजनिक गरेको हो ।
युरोपको सबैभन्दा ठूलो सवारीसाधन निर्माता फक्सवागनले तेस्रो त्रैमासमा ५ अर्ब ९० करोड युरो (करिब ६ अर्ब ६० करोड अमेरिकी डलर) सञ्चालन घाटा व्यहोरेको जनाएको छ । कम्पनीका अनुसार करिब ८ अर्ब युरो बराबरको एकपटक मात्र हुने खर्चका कारण घाटा बढेको हो । उक्त खर्चको ठूलो हिस्सा पोर्शेमा रहेको आफ्नो लगानीको मूल्य घटाउँदा सिर्जना भएको हो ।
कम्पनीका प्रवक्ताका अनुसार सन् २०१५ को चौथो त्रैमासपछि फक्सवागनले व्यहोरेको यो सबैभन्दा ठूलो त्रैमासिक घाटा हो । सन् २०१५ मा डिजेल सवारीसाधनको उत्सर्जन परीक्षणमा अनियमितता गरेको ‘डिजेलगेट’ प्रकरणसँग सम्बन्धित ठूलो रकमको खर्चका कारण कम्पनी घाटामा गएको थियो ।
कम्पनीका प्रमुख वित्तीय अधिकारी आर्नो एन्टलिट्जले भिडियो वक्तव्य जारी गर्दै पहिलो नौ महिनाको नतिजाले समय खेर फाल्न नसकिने स्पष्ट पारेका छन् । उनले कम्पनीले छिटो र निर्णायक कदम चाल्नुपर्ने बताएका छन् ।
घाटा बढेसँगै कम्पनीको वित्तीय अवस्थामाथि दबाब परेको छ । यसअघि नै करिब १० वर्षयताकै न्यून बिन्दुमा पुगेको फक्सवागनको सेयर मूल्य सुरुमा २ प्रतिशतले घटेको थियो । यद्यपि, ग्रिनविच समयअनुसार बिहान ९ बजेसम्ममा सेयरको गिरावट १ प्रतिशतभन्दा कममा सीमित भएको थियो ।
तेस्रो त्रैमासमा कम्पनीको आम्दानी ६ प्रतिशतले घटेर ७५ अर्ब ३० करोड युरोमा झरेको छ ।
फक्सवागनको वित्तीय नतिजाले कम्पनीले आफ्नो व्यावसायिक ढाँचा परिवर्तन गर्नुपर्ने दबाब बढ्दै गएको देखाएको छ । विशेषगरी चीनमा तीव्र प्रतिस्पर्धा, वार्षिक अर्बौं युरो बराबरको भन्सार शुल्क र युरोपमा विद्युतीय सवारीसाधनतर्फको संक्रमणका लागि आवश्यक ठूलो लगानीले कम्पनीलाई चुनौती थपेको छ । यसबीच चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूले युरोपेली बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् ।
फक्सवागनमा लगानी रहेको युनियन इन्भेस्टमेन्टका मोरिट्ज क्रोनेनबर्गरले कम्पनीको घाटा सम्पूर्ण सवारीसाधन क्षेत्र र उद्योगका लागि चेतावनी भएको बताएका छन् । उनका अनुसार यसबाट नीतिनिर्माताहरूले पनि पाठ सिक्नुपर्ने आवश्यकता छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर ब्लुमेले पुनर्संरचना योजनाअन्तर्गत समूहभरि एक लाख रोजगारी कटौती गर्ने योजना अघि सारेका छन् । यस समूहअन्तर्गत आउडी र पोर्शेजस्ता ब्रान्ड पनि पर्छन् । योजनाअनुसार जर्मनीमा रहेका चारवटासम्म कारखाना बन्द हुन सक्नेछन् ।
रोजगारी कटौती र कारखाना बन्द गर्ने योजनाको ट्रेड युनियनहरूले कडा विरोध गर्दै आएका छन् । यसका कारण आगामी वर्षको सुरुदेखि नै हडताल हुन सक्ने सम्भावना रहेको छ ।
प्रमुख वित्तीय अधिकारी एन्टलिट्जका अनुसार एकपटक मात्र हुने खर्चलाई समावेश गर्नुअघि पनि यस वर्षको पहिलो नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ३.८ प्रतिशत मात्रै रहेको छ । उनले यो अवस्था दीर्घकालीन रूपमा पर्याप्त नहुने बताएका छन् ।
फक्सवागनले पुनर्संरचना कार्यक्रमअन्तर्गत सन् २०३० सम्ममा सञ्चालन नाफा मार्जिन ८ देखि १० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
यसअघि गत महिना कम्पनीले १० अर्ब युरो बराबरको एकपटक मात्र हुने खर्चको अनुमान सार्वजनिक गर्दै सन् २०२६ को नाफा मार्जिनको प्रक्षेपण घटाएको थियो । कम्पनीले सन् २०२६ मा नाफा मार्जिन अधिकतम १ प्रतिशत मात्रै रहने अनुमान गरेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा



