काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् ।
प्रधानमन्त्री शाहले आठवटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रङ्गशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् ।
क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोकेका छन् ।
कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको न्यानो साथमा खेल्ने कर्णालीवासीको वर्षौंदेखिको सपना अब साकार हुने दिशामा अघि बढेको बताए ।
राज्यको ऐतिहासिक पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, लुकेका स्थानी प्रतिभाको प्रस्फुटन र समग्र कर्णालीको खेल पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास लिइएको बताए ।
कर्णालीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने यस महाअभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट सङ्घ र सम्पूर्ण सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्न कर्णाली एक्स सधैँ तत्पर र प्रतिबद्ध रहेको उनले बताए ।



