Global College

विकास बैंकहरुको नाफा १६८ प्रतिशतले वृद्धि, कुन बैंकको ब्याज आम्दानी कति?

काठमाडौं । विकास बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार विकास बैंकहरूले पहिलो त्रैमासको (साउन-असोज) सम्ममा १ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम १६८.४६ प्रतिशत धेरै हो। गत वर्ष बैंकहरूले ६१ करोड ३७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएका थिए।

सञ्चालनमा रहेका विकास बैंकहरूमध्ये लुम्बिनी विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। बैंकले ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तै, मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ, गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार, कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार र ज्योति विकास बैंकले २० करोड १ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नाफा वृद्धिदरका आधारमा ज्योति विकास बैंक अगाडि देखिएको छ। बैंकको खुद नाफा १८४.५८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ११०.७७ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४३.४४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३५.८६ प्रतिशत, महालक्ष्मी विकास बैंकको २१.४८ प्रतिशत र कामना सेवा विकास बैंकको १६.९९ प्रतिशतले बढेको छ।

गत वर्ष घाटामा रहेका पाँच बैंक यस वर्ष नाफामा फर्किएका छन्। लुम्बिनी विकास बैंक गत आवमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेकोमा चालु आवमा नाफा ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले ४३ लाख ६० हजार, एक्सेल डेभलपमेन्ट बैंकले ४० लाख ७ हजार, नारायणी डेभलपमेन्ट बैंकले २९ लाख ९६ हजार र ग्रीन डेभलपमेन्ट बैंकले ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

यता, केही बैंकको नाफा भने घटेको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६२.०६ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २.६६ प्रतिशत र गरिमा विकास बैंकको ४.१७ प्रतिशतले घटेको छ।

सिन्धु विकास बैंकको घाटा गत वर्षको ४ करोड ४५ लाख ९७ हजार रुपैयाँबाट बढेर ६ करोड २१ लाख ३६ हजार रुपैयाँ पुगेको छ। सालपा विकास बैंकको घाटा पनि ९९ लाख ८४ हजार रुपैयाँबाट बढेर १ करोड ७४ लाख २७ हजार रुपैयाँ पुगेको छ।

पहिलो त्रैमासमा विकास बैंकहरूको कुल ब्याज आम्दानी २.२६ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ८६ करोड २७ लाख ५३ हजार रुपैयाँ थियो। खुद नाफा १६८.४६ प्रतिशतले बढ्दा ब्याज आम्दानी भने २.२६ प्रतिशत मात्रै बढ्नुले नाफा वृद्धिमा ब्याज आम्दानीबाहेकका पक्षको भूमिका महत्वपूर्ण रहेको संकेत गर्छ।

समीक्षा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको ब्याज आम्दानी सबैभन्दा धेरै ३३.५४ प्रतिशतले बढेको छ। बैंकले गत वर्षको असोजसम्ममा ४ करोड ६१ लाख १ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बढेर ६ करोड १५ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ब्याज आम्दानी २६.७६ प्रतिशतले बढेर ९ करोड २४ लाख ८८ हजार रुपैयाँ पुगेको छ। ज्योति विकास बैंकको २०.१२ प्रतिशतले बढेर ६३ करोड १८ लाख ७ हजार रुपैयाँ पुगेको छ।

एक्सेल डेभलपमेन्ट बैंकको ब्याज आम्दानी १४.६३ प्रतिशतले बढेर १५ करोड २८ लाख ४३ हजार रुपैयाँ पुगेको छ। लुम्बिनी विकास बैंकको ८.९४ प्रतिशत, सिन्धु विकास बैंकको ७.६१ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २.७० प्रतिशतले बढेको छ।

NECO

Leave Your Comment

Related News