काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले आज कात्तिक २७ गते एक सूचना जारी गर्दै अधिकृत तृतीय र सहायक द्वितीय श्रेणीका कुल ६१ रिक्त पदका लागि आवेदन माग गरेको हो।
बैंकले प्रशासन र प्राविधिक सेवातर्फ गरी पाँचवटा विज्ञापनमार्फत कर्मचारी माग गरेको छ। जसअनुसार प्रशासन सेवातर्फ सहायक निर्देशक अधिकृत तृतीय पदमा २६ जना, सहायक निर्देशक लेखारलेखापरीक्षणमा ३ जना र सहायक निर्देशक वाणिज्य कानुनमा २ जना पुनः प्रकाशन माग गरिएको छ। त्यस्तै, प्राविधिक सेवातर्फ सहायक निर्देशक सूचना प्रविधि पदमा ४ जना तथा प्रशासन सेवाकै सहायक सहायक द्वितीय पदमा २६ जनाका लागि दरखास्त खुलाइएको छ।
योग्य नेपाली नागरिकले कात्तिक २७ गतेदेखि बैंकको विद्युतीय माध्यम अनलाइन मार्फत दरखास्त फाराम भर्न सक्नेछन्। सिंगल दस्तुर तिरेर आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १७ गते सम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मंसिर २४ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।
आवेदकले अनलाइन फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र विदेशी शैक्षिक संस्थाको हकमा समकक्षताको प्रमाणपत्र तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति अपलोड गर्नुपर्नेछ।
यसका साथै, सहायक द्वितीय पदका लागि आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता (pre-test) परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र समेत अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। म्यादभित्र दाखिला नभएको र रित नपुगी प्राप्त भएका दरखास्त उपर कुनै कारबाही नहुने बैंकले स्पष्ट पारेको छ।



