Global College

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाह सम्मानित, अन्य को-को भए सम्मानित ?

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ।

विभागतर्फबाट संस्थागत करदातामा सूर्य नेपाल प्रालि र व्यक्तिगत करदातातर्फ राजबहादुर शाह सम्मानित भएका छन्। विभागले विभिन्न व्यावसायिक क्षेत्रबाट उत्कृष्ट कर योगदान गर्ने कम्पनी तथा संस्थालाई समेत सम्मान गरेको हो।

पर्यटन व्यवसाय क्षेत्रबाट सोल्टी होटल लिमिटेड, वस्तु तथा व्यापारतर्फ सीजी इम्पेक्स र ऊर्जा क्षेत्रबाट भोटेकोशी पावर कम्पनी उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।

त्यस्तै, वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने कम्पनीमध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। रेमिट्यान्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई र २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिस्टिलरी लिमिटेड पनि सम्मानित भएका छन्।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीमध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी, विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने वरुण बेभरेज र प्रतिकूल परिस्थितिमा समेत उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेको भन्दै भाटभटेनी सुपरमार्केट सम्मानित भएका छन्।

एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फानाइड सफ्टवेयर सर्भिस नेपाल सम्मानित भएका छन्। कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्सले सम्मान प्राप्त गरेको छ।

यसैगरी, बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्रबाट नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल सम्मानित भएका छन्।

राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा गरिएको यस सम्मानले करदातालाई समयमै कर दाखिला गर्न प्रोत्साहित गर्नुका साथै कर अनुपालनको संस्कृतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News