Global College

नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब पुग्यो, सम्पत्ति र दायित्व अवस्था के-केमा छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व एक वर्षमा ४५.०६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तको वासलातअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा बैंकको कुल सम्पत्ति तथा दायित्व २६ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकको कुल सम्पत्तिमा लगानीको हिस्सा सबैभन्दा धेरै रहेको छ। कुल सम्पत्तिमा लगानी (गोल्ड सर्टिफिकेटसमेत) को हिस्सा ८९.७२ प्रतिशत पुगेको छ। त्यस्तै, नगद तथा बैंक मौज्दात सम्पत्तिको हिस्सा ६.८७ प्रतिशत र अन्य सम्पत्तिको हिस्सा ३.४१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ८८.९२ प्रतिशत, ७.३२ प्रतिशत र ३.७६ प्रतिशत थिए।

राष्ट्र बैंकले विभिन्न उपकरणमा गरेको लगानी ४६.३६ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लगानी २३ खर्ब ७५ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति ३६.१८ प्रतिशतले वृद्धि भई २ खर्ब ६६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सम्पत्ति १ खर्ब ९५ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो।

दायित्वमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको हिस्सा ५९ प्रतिशत

२०८३ असार मसान्तसम्म राष्ट्र बैंकको कुल दायित्व तथा इक्विटीमा दायित्वको हिस्सा ७३.१२ प्रतिशत र इक्विटीको हिस्सा २६.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात क्रमशः ७४.६९ प्रतिशत र २५.३१ प्रतिशत थियो।

कुल दायित्वमध्ये चलनचल्तीमा रहेको नोटको हिस्सा २८.२९ प्रतिशत रहेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्व, एसडीएफ डिपोजिट कलेक्सन तथा एनआरबी बन्डको हिस्सा ५९.१५ प्रतिशत रहेको छ।

यसैगरी, नेपाल सरकारको निक्षेप दायित्वको हिस्सा ६.५६ प्रतिशत र अन्य दायित्वको हिस्सा ५.९९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा चलनचल्तीमा रहेको नोटको रकम ६.८७ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको स्वदेशी तथा विदेशी मुद्राको निक्षेप दायित्व ५९.१३ प्रतिशतले वृद्धि भई १६ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप १० खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।

सरकारी निक्षेप १६२ प्रतिशतले वृद्धि

राष्ट्र बैंकमा रहेको नेपाल सरकारको निक्षेप १६२.५९ प्रतिशतले वृद्धि भएको छ। २०८३ असार मसान्तसम्म यस्तो निक्षेप १ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सरकारको निक्षेप ७० अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

यसैगरी, समीक्षा अवधिमा राष्ट्र बैंकको कुल इक्विटी ५४.०५ प्रतिशतले वृद्धि भएको छ। इक्विटीअन्तर्गत रहेको जगेडा कोष ५४.४५ प्रतिशतले वृद्धि भई १० खर्ब ३६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको शेयर पुँजी भने अघिल्लो वर्षकै स्तरमा ५ अर्ब रुपैयाँ कायम रहेको छ।

समग्रमा राष्ट्र बैंकको वासलातमा लगानी, बैंक तथा वित्तीय संस्थाको निक्षेप र जगेडा कोषमा उल्लेख्य वृद्धि भएको देखिन्छ। विशेषगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप दायित्व र सरकारी निक्षेपमा भएको वृद्धिले राष्ट्र बैंकको कुल वासलात विस्तारमा योगदान पुर्‍याएको छ।

 

NECO

Leave Your Comment

Related News