Global College

आईपीओ निष्कासन गर्दै आशुतोष इनर्जी

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

कुल कित्ता आईपीओेमध्ये ६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो । स्थानीयमा निष्कासन हुने आईपीओमध्ये ३ लाख कित्ता शेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गारखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३ लाख कित्ता शेयर अतिप्रभावित क्षेत्र बाहेकको दुधपोखरी गाउँलिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिने जानकारी कम्पनीले दिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने थप सर्वसाधारणमा दोस्रो चरणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको हो । दुबै तर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावित स्थानीमा छिटोमा मंसिर २८ गतेसम्म आईपीओ निष्कासन मिति तय भएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा पुस १४ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा भने छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गतेसम्मको निष्कासन मिति तय भएको छ ।

यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयर अनलाईनबाट पनि आवेदन पेश गर्न सक्नेछन् ।

NECO

Leave Your Comment

Related News