Global College

असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिटेन्स

काठमाडौं ।  नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण (रेमिटेन्स) भित्र्याएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च रकम हो। यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको थियो।

चालु आर्थिक वर्षको भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको असोजमा भने यस्तो आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा यस्तो आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरमा मापन गर्दा रेमिटेन्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। समीक्षा अवधिमा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ। राष्ट्र बैंकको विवरणमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिमा यी संख्या क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ थिए।

NECO

Leave Your Comment

Related News