Global College

धादिङको घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि निरन्तर पहिरो खसिरहेका कारण उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको हो।

सडकमा ढुंगा र माटो थुप्रिनुका साथै पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।

पहिरो पन्छाएर कम्तीमा एकतर्फी रूपमा भए पनि यातायात सञ्चालन गर्ने उद्देश्यले आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ। तर, पहिरो निरन्तर खसिरहेकाले सडक खुलाउने काम अघि बढाउन समस्या भइरहेको कार्यालयको भनाइ छ।

थप पहिरो खस्न सक्ने जोखिम रहेकाले उक्त क्षेत्र भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालयले सुरक्षित दूरी कायम गर्न, हतार नगर्न र ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

पहिरो पन्छाउने कामसँगै आगामी केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर काठमाडौं तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका छन्।

NECO

Leave Your Comment

Related News