काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनको भारत भ्रमण करिब २५ घण्टाको हुनेछ। प्रधानमन्त्री बनेपछि द्विपक्षीय वार्ताका लागि उनको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ भने भारतकी राष्ट्रपतिले पनि प्रधानमन्त्री शाहलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा भारतले नेपाललाई २ अर्ब अमेरिकी डलर बराबरको ऋण सुविधा (क्रेडिट लाइन) घोषणा गर्न सक्ने सम्भावना छ। यसबाहेक नेपालले थप ५० करोड अमेरिकी डलरको ऋण सुविधाका लागि समेत पहल गरिरहेको छ। दुवै देशबीच यससम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताइएको छ।
भारतसँग नेपालका मुख्य माग के–के छन् ?
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालले मुख्यगरी आर्थिक सहायता, हवाई मार्ग, ऊर्जा, पूर्वाधार विकास तथा व्यापारिक कनेक्टिभिटीका विषयलाई प्राथमिकतामा राख्ने भएको छ।
नेपालले भारतसँग २ अर्ब अमेरिकी डलर बराबरको ऋण सुविधा र भारतीय हवाई क्षेत्र प्रयोग गरी नेपाली विमानको उडान विस्तार गर्न माग गरिरहेको छ।
त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन, एकीकृत जाँच चौकी निर्माण तथा सञ्चालन, पोखरा विमानस्थलका लागि थप हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि छलफल हुने बताइएको छ। यसबाहेक पुल निर्माण र सिलिगुडी–चाराली पेट्रोलियम पाइपलाइनजस्ता परियोजना पनि वार्ताको एजेन्डामा छन्।
ऊर्जा क्षेत्रतर्फ सीमापार विद्युत् व्यापार, तल्लो अरुण र पञ्चेश्वर जलविद्युत् आयोजना तथा जलस्रोत बाँडफाँटसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
हवाई मार्गको विषयमा सहमति जुट्न कठिन
नेपालले लामो समयदेखि भारतीय हवाई क्षेत्र हुँदै नेपाली विमानको उडान विस्तार गर्न माग गर्दै आएको छ। विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सहज बनाउन थप हवाई मार्ग आवश्यक रहेको नेपालको भनाइ छ।
तर, यस विषयमा दुवै देशबीच अझै सहमति जुट्न सकेको छैन। भारतले बागडोगराबाट नेपाली हवाई क्षेत्र हुँदै आफ्ना लडाकु विमान प्रवेश गराउन चाहेको छ भने नेपालले यसलाई संवेदनशील विषयका रूपमा लिएको छ।
नेपालले नागरिक विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिन आपत्ति नरहेको स्पष्ट पारे पनि लडाकु विमानलाई उडान अनुमति दिन अस्वीकार गर्दै आएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
विमान उडानको उचाइका विषयमा पनि दुई देशबीच छलफल भइरहेको बताइएको छ। भारतले ३९ हजार फिट उचाइमा विमान उडान गर्न प्रस्ताव गरेको छ भने नेपालले २९ हजार फिटको उचाइ प्रस्ताव गरेको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद पनि उठ्न सक्ने
प्रधानमन्त्री शाहले भारतसँगको द्विपक्षीय वार्तामा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको विषय पनि उठाउन सक्ने सम्भावना छ।
यद्यपि, यस विषयलाई औपचारिक वार्ताको एजेन्डामा समावेश गर्ने विषयमा भारतीय पक्षबाट अहिलेसम्म स्पष्ट सहमति प्राप्त भइसकेको छैन।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्स अनलाइनका अनुसार प्रधानमन्त्री शाहले भारत भ्रमणअघि नेपालका केही पूर्वकूटनीतिज्ञसँग सीमा विवादको विषयमा छलफल गरेका थिए। उक्त छलफलमा भारतसँगको वार्तामा सीमा विवादको विषय उठाउने वा नउठाउने भन्नेबारे परामर्श गरिएको थियो।
नेपालको आन्तरिक राजनीतिमा पनि सीमा विवादको विषय महत्त्वपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले यस विषयलाई उठाउँदा राष्ट्रियताको मुद्दामा आफ्नो राजनीतिक छवि बलियो बनाउन सक्ने कतिपयको आकलन छ।
बालेनको भारत भ्रमण किन महत्त्वपूर्ण?
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई औपचारिक कूटनीतिभन्दा पनि व्यापक महत्त्वको रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार यस भ्रमणले व्यापार, पारवहन, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र सीमापार विकासका क्षेत्रमा दुई देशबीचको आपसी सद्भावलाई ठोस सहकार्यमा रूपान्तरण गर्ने अवसर प्रदान गर्नेछ।
त्यस्तै, प्रधानमन्त्रीको सचिवालय स्रोतले बालेन शाहको भारत भ्रमणलाई नेपालको सन्तुलित विदेश नीतिसँग जोडेर हेरेका छ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणअघि चीनले पनि आफ्नो एक अधिकारीलाई काठमाडौं पठाएको छ भने बालेन नेतृत्वको पार्टीका कम्तीमा २० सांसद चीन भ्रमणमा रहेका छन्। यसलाई नेपालको सन्तुलित कूटनीतिक रणनीतिका रूपमा हेरिएको छ।
१० बुँदे संयुक्त दृष्टिकोणपत्रमा हस्ताक्षर हुन सक्ने
पूर्वराजदूत रञ्जित रेका अनुसार भारत र नेपालबीच भ्रमणका क्रममा १० बुँदे संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) मा हस्ताक्षर हुन सक्ने सम्भावना छ।
उक्त दस्तावेजमा व्यापार, पारवहन मार्ग, ऊर्जा, कनेक्टिभिटी, स्वास्थ्य, शिक्षा तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई प्राथमिकता दिइने बताइएको छ। यसको मूल विषयवस्तु ‘समृद्ध नेपाल, समुन्नत भारत’ रहने बताइएको छ।
समग्रमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा हेरिएको छ। आर्थिक सहायता, ऊर्जा सहकार्य, हवाई मार्ग विस्तार र पूर्वाधार विकासका विषयमा हुने सहमतिले नेपाल–भारत सम्बन्धको आगामी दिशा निर्धारण गर्न सक्ने अपेक्षा गरिएको छ।
भारतीय मिडियको सहोगमा समेत यो समाचार तयार गरिएको छ ।



