काठमाडौं । जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत यहाँ आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ ।
नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गरे । सो अवसरमा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए ।
उनले नेपाल–भारतबीचको यस रेल सेवामार्फत धार्मिक पर्यटन प्रवर्द्धन तथा व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सरयू–कमला एक्सप्रेसले दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने बताए ।
उनले भने, “अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो ।” श्रममन्त्री यादवले विवाहपञ्चमी महोत्सव नजिक आइरहेको अवस्थामा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवाले आवागमनमा सहजता प्रदान गर्ने बताए । उनले पछिल्लो रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन साथै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरे ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारले दुई देशबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे । उनले रेल सेवा सञ्चालन गर्न भएको ऐतिहासिक पहलका लागि दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरे ।
मुख्यमन्त्री यादवले नेपाल र भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिए । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्ने पहल दुवै देशका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।
विश्व हिन्दू परिषद् नेपालका प्रदेश सङ्गठन सचिव जङ्गबहादुर सिंहले रेल सेवाले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा दुवै देशलाई लाभ पुर्याउनुका साथै नागरिकबीचको आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल १७ वटा डब्बासहित आज बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो । रेलमा सवार भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।
तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरूका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ । स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई आजै पुनः बिदाइ गरिने प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए ।
नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि कुर्थाबाट भङ्गहा–बिजलपुरासम्म सेवा विस्तार गरिएको थियो ।



