काठमाडौं । गृह मन्त्रालयले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूका हकदारलाई मृतकसरह शीघ्र राहत उपलब्ध गराउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सिफारिस भएका हकदारहरूलाई स्थानीय तहमार्फत तत्काल राहत वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
सरकारले गत २०८३ असोज २३ गते जारी गरेको ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ अनुसार बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सकिने कानुनी व्यवस्था गरिएको छ। सोही व्यवस्थाबमोजिम हालसम्म ४९ वटा जिल्ला प्रशासन कार्यालयले मृतक घोषणाका लागि सिफारिस पठाइसकेको मन्त्रालयले जनाएको छ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१ असार ३१ र २०८१ फागुन १२ गते बसेको बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपद्मा परी कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिहरूको अवस्था यकिन गरी निजका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णय र अध्यादेशको व्यवस्थालाई प्रभावकारी तथा शीघ्र कार्यान्वयन गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ताकेता गरेको हो।



