Global College

सरकारले ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउन लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भई कर्जा लगानी विस्तार हुन नसकिरहेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिलमा बैंकहरूले प्रतिस्पर्धा गर्न लागेका हुन्।

आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिएको उक्त रकम बराबरको ट्रेजरी बिलको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। कार्यालयका अनुसार १५ अर्ब र ५ अर्ब गरी कुल २० अर्ब रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो।

कार्यालयका अनुसार १८२ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो, जुन आगामी २०८४ जेठ १८ गते परिपक्व हुनेछ। त्यस्तै, ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि पनि बोलकबोल हुँदैछ। उक्त ट्रेजरी बिल २०८४ मंसिर १४ गते परिपक्व हुनेछ।

बोलकबोलमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ भने ट्रेजरी बिल आगामी मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ। यसअघि गत मंसिर ८ गते १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिदका लागि २४ अर्ब १७ करोड रुपैयाँको बोल परेको थियो, जसको औसत छुटदर (डिस्काउन्ट रेट) ०.६७२९ प्रतिशत कायम भएको थियो।

NECO

Leave Your Comment

Related News