काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पुस ६ गते दशौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औं बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि के.जे. एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
त्यस्तै, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन गर्ने कार्यसूची रहेको छ । जसअनुसार नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट दुई जना र सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गरिनेछ ।
कम्पनीले आफ्नो अधिकृत पुँजी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । यसैगरी जारी तथा चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने र सोहीअनुसार कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
यसका साथै कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । नेपाल सरकारको हाल कायम ४४.०३९००५१००१६४२६ प्रतिशत शेयर स्वामित्व नघट्ने गरी हकप्रद शेयर जारी गर्ने कम्पनीको योजना छ ।
नेपाल सरकारबाट चालु आर्थिक वर्षमा शेयर लगानीका लागि एक अर्ब रुपैयाँ प्राप्त हुने पत्रअनुसार उक्त रकमको अनुपातमा १६.९१७६००३२०८०८३ प्रतिशत हकप्रद शेयर निष्कासन गरी चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सञ्चालक समितिले अघि सारेको हो ।
त्यस्तै, कम्पनी ऐन, २०६३ बमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव प्राप्त भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । त्यसैले मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्रै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।



