काठमाडौं । नेपालमा भदौ दोस्रो साता भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। २०८३ भाद्र १७ गते साँझ १९:०० बजेसम्म प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रमा सेना, गैरसैनिक र वैदेशिक उद्धार टोलीहरू अहोरात्र खटिएका छन्।
सेनाले हवाई साधनमार्फत भाद्र १७ गते मात्रै विभिन्न प्रभावित इलाकाहरूबाट ३४ जनाको सकुशल उद्धार गरेको छ भने हालसम्म हेलिकप्टर प्रयोग गरी २७३ जना विदेशी नागरिकसहित कुल ३,९२५ जनाको उद्धार गरिसकेको छ।
बाढी र लेदोका कारण अवरुद्ध भएका रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका टनेलहरूमा टोली परिचालन गरी खोजी कार्य जारी राखिएको छ। रसुवागढी हाइड्रोमा सेना र इन्जिनियरको टोली २७५ मिटरसम्म पुगेको छ भने हेभी मेसिन र एक्साभेटर ड्रप गरी उद्धार थप तीव्र पार्ने तयारी भइरहेको छ। यस्तै लाङटाङ हाइड्रोमा विदेशी विशेषज्ञसहित २५ जनाको टोली टनेलभित्र १५० मिटरसम्म र चिलिमे हाइड्रोमा पनि टोली १५० मिटर पुगी बन्द अवस्थामा रहेको टनेलमा ‘साउन्ड डिट्याक्टर’ बाट मोनिटर गरिरहेको छ।
अपर त्रिशूली-१ को टनेलको मुख ढुङ्गाले छेकिएकाले भित्र छिर्ने प्रयास जारी छ भने हाकु बेसीमा टोली २६० मिटरसम्म पुग्दा पनि केही फेला परेको छैन। त्रिशूली-३A मा ९३ जनाको टोलीले बोबक्याट, कम्प्रेसर मेसिन र ब्लास्टिङ्ग मार्फत लेदो र चट्टान हटाउने काम गरिरहेको छ भने त्रिशूली-३B मा आयोजनाको कार्यालय र क्याम्प क्षेत्र पहिचान गरी खोजी भइरहेको छ।
जमिनी खोज, राहत तथा स्वास्थ्य सेवातर्फ रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले जङ्गल, डाँडा र बस्ती इलाकामा पैदल गस्ती गरी उद्धार गर्नुका साथै डाक्टर अधिकृतसहितको टोलीमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। टिमुरेमा फेला परेका शवहरू व्यवस्थापनका लागि ‘स्लिङ लोड अपरेसन’ मार्फत त्रिशूलीसम्म ल्याउने काम सुरु गरिएको छ भने त्रिशूली पारिको कोलोनी, तुप्चे, सोले बजार र नुवाकोटका विभिन्न स्थानमा पनि खोजी कार्य जारी छ।
यसैगरी प्रभावित क्षेत्रमा बाढीपछि महामारी तथा किटाणु फैलिन नदिन सेनाले व्यापक निसंक्रमण (Disinfect) अभियान चलाएको छ। रसुवाको धुन्चे र रेडपान्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र, चितवनको देवघाट, धादिङको गजुरी, कास्कीको याम्दी, तनहुँको चैनपुर र नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पताल तथा मुलपानी सामुदायिक वन लगायतका शव फेला परेका स्थानहरूमा किटाणुनाशक औषधि छर्कने काम भइरहेको छ भने अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय तहहरूसँगको समन्वयमा निसंक्रमणको तयारी गरिएको छ।



