काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए ।
गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए । उनका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था छैन ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन् । उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन् ।



