काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, विपद्का कारण घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको र त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि हाल पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको अवस्था छ। सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसक्दा केही दिनयता उपभोक्ताले ग्यास अभावका कारण कठिनाइ भोग्नुपरेकोप्रति मन्त्रालय गम्भीर रूपमा सचेत रहेको छ।
उपभोक्ताले दैनिक जीवनमा प्रत्यक्ष रूपमा भोग्नुपरेको यस असहज अवस्थाप्रति मन्त्रालय अत्यन्त संवेदनशील र चिन्तित छ। विपद्का कारण उत्पन्न परिस्थितिलाई सामान्य बनाउन मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायहरूसँग निरन्तर संवाद, समन्वय र सहजीकरण गर्दै आएको छ।
यसैक्रममा आजदेखि हेटौँडाबाट दैनिक १०० ट्रक भरिएको एलपी ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं उपत्यकामा पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिने मन्त्रालय जनाएको छ ।
नेपाल आयल निगम तथा एलपी ग्यास व्यवसायीहरूसँगको निरन्तर संवाद र सहकार्यका माध्यमबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावको समस्या आगामी केही दिनभित्रै क्रमशः समाधान हुँदै जाने विश्वास मन्त्रालयले लिएको छ।
विपद्को यस कठिन घडीमा आम उपभोक्ताको दैनिक जीवनमा थप असहजता नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिरहेको छ। नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्तिमा कुनै कमी हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।



