काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले विनाशकारी बाढीका बेला राज्य आफ्नो पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नबाट चुकेको बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय शोकको यस घडीमा उद्धार र राहतका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाउँदै उद्धारमा देखिएको ढिलासुस्तीप्रति कडा आलोचना गरिन् ।
बाढी आएको नौ दिन बितिसक्दा पनि त्रिशूली–३ ए र ३ बी जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय भएको उनले बताइन् ।
‘सातौँ दिनमा आएर मात्र सरकारले आयोजनालाई हामीले सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुस् भन्नु राज्यको लाचारी हो,’ उनले भनिन् । नागरिकको ज्यान जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न नहुने भए पनि अहिले नागरिकले राज्य चुकिरहेको अनुभूति गरिरहेको उनले बताइन् ।
क्जष्खबm ऋझभलत
आफ्नो गृहजिल्ला धादिङको क्षतिबारे जानकारी दिँदै सांसद थपलियाले हालसम्म १४४ जना जिल्लावासी बेपत्ता भएकोमा १० जनाको मात्र शव पहिचान भएको जानकारी दिइन् ।
विपद्मा बाल्यकालको साथी र गाउँका प्यारा मानिसहरू गुमाउनु पर्दा मुटु भक्कानिएर आउने उनले बताइन् । धादिङमा ५०० घरपरिवार विस्थापित भएका छन् भने ६ वटा पक्की र १३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । हजारौँ रोपनी खेतीयोग्य जमिन नदीले काटेको र विद्यालय, होटल तथा रिसोर्ट लगायतका संरचनामा ठुलो क्षति पुगेको उनले बताइन् ।
जिल्लाका गजुरी र गल्छी गाउँपालिकामा अत्यधिक क्षति भएको र स्थानीय जनप्रतिनिधिहरू दिनरात उद्धारमा खटिएको उनले जानकारी दिइन् । राहत वितरणमा खटिएका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाएर पीडितको पीडा थप्ने काम नगर्न उनले आग्रह गरिन् ।
पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको कटानका कारण ५ दिनदेखि यातायात ठप्प हुँदा औषधि, खाद्यान्न र इन्धन आपूर्तिमा गम्भीर समस्या देखिएको उनले बताइन् । त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बगाउँदा सदरमुकाम र राजधानीसँगको सम्पर्क टुटेकाले त्यहाँ तत्काल ुबेलिब्रिजु निर्माण गरी सडक सम्पर्क पुनर्स्थापित गर्न उनले सरकारसँग जोडदार माग गरिन् ।
राहत र पुनर्स्थापनाका लागि सङ्घ सरकारले प्याकेज र मापदण्ड बनाउने, प्रदेशले समन्वय गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी तीनै तहको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिइन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिन् ।



