CLI
Global College

इरानमा मृतकको संख्या १८ पुगेपछि ट्रम्पद्वारा थप आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जुनसुकै बेला आक्रमण गर्न सकिने चेतावनी दिँदै थप हमलाको धम्की दिएका छन्। पछिल्लो अमेरिकी आक्रमणमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने कम्तीमा १०८ जना घाइते भएका छन्।

जुलाई महिनायता अमेरिका र इरानबीच भएको यो सबैभन्दा ठूलो दोहोरो भिडन्तपछि बुधबार ट्रम्पको यस्तो धम्की आएको हो। नाकाबन्दीमा परेको होर्मुज जलडमरूमध्य नजिकै रहेको इरानको दक्षिणी तटवर्ती शहरहरू र क्षेत्रहरूलाई लक्ष्य गरी अमेरिकी सेनाले आक्रमण गरेको थियो, जसमा कुहेस्तक शहरमा भइरहेको एउटा वैवाहिक समारोह (विवाह भोज) समेत परेको छ।

इरानले मध्यपूर्वस्थित बहराइन, इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गरी जवाफी कारबाही गरेको छ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले गएराति उनीहरूमाथि निकै कडा प्रहार गर्‍यौँ” र उक्त आक्रमणले “इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा निर्माण गर्न खोजेका सबै नयाँ उपकरणहरू ध्वस्त पारिदिएको छ।”

“गएरातिको आक्रमण निकै भीषण थियो। र हामी अर्को आक्रमणका लागि पनि तयार छौँ, जुनसुकै बेला हामी आक्रमण गर्न सक्छौँ,” उनले भने।

इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

इरानका स्वास्थ्य मन्त्री मोहम्मद-रेजा जाफरघान्दीका अनुसार ज्यान गुमाउनेहरूमा दुई जना बालबालिका समेत रहेका छन्। जसमध्ये सिरीक काउन्टीको कुहेस्तकमा वैवाहिक समारोहमा भएको आक्रमणमा परी एक जना चार वर्षीया बालिकाको मृत्यु भएको छ।

सो वैवाहिक समारोहमा भएको आक्रमणमा मात्रै कम्तीमा चार जनाको ज्यान गएको थियो।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले कुहेस्तक आक्रमणलाई “युद्ध अपराध” को संज्ञा दिँदै सर्वसाधारणलाई निशाना नबनाइएको भन्ने अमेरिकी दाबीको खण्डन गरेका छन्।

“यथार्थ यति भयानक छ कि अमेरिकी प्रचारबाजीले पनि आज अमेरिकी सेनाले गरिरहेको जस्तो दाबी गर्ने आँट कहिल्यै गरेको थिएन। सिरीक कुनै बनावटी कथा होइन। त्यहाँका सर्वसाधारण र पीडितहरू वास्तविक हुन्,” बागेईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

एजेन्सी

Leave Your Comment

Related News