CLI
Global College

कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष आध्यात्मिक अनुष्ठान सम्पन्न गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको उक्त अनुष्ठानमा सामूहिक विष्णुसहस्रनाम स्तोत्र, महामृत्युञ्जय मन्त्र तथा स्वस्ति शान्ति पाठ गरिएको पीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए ।
वैदिक मन्त्रोच्चारणसँगै दीप प्रज्वलन गर्दै बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको आत्माले शान्ति प्राप्त गरून्, बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा सकुशल उद्धार होस्, घाइतेहरूले पूर्ण स्वास्थ्यलाभ गरून् तथा पीडित परिवारलाई दुःख सहन सक्ने धैर्य, साहस र मानसिक शान्ति प्राप्त होस् भन्ने सामूहिक प्रार्थना गरिएको थियो ।
वैदिक परम्परामा शान्ति, कल्याण तथा लोकमङ्गलका लागि गरिने प्रार्थना र स्वस्ति शान्ति पाठले व्यक्तिगत मात्र नभई समष्टिगत कल्याणको भावना अभिव्यक्त गर्ने मान्यता रहँदै आएको छ ।
श्रीकृष्ण जन्माष्टमीलाई केवल भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मात्र नभई धर्म, करुणा, मानवता, लोककल्याण र विपत्तिमा परेकाप्रति सहानुभूति प्रकट गर्ने अवसरका रूपमा ग्रहण गर्दै यसपटकको कार्यक्रम आयोजना गरिएको मठाधीश स्वामी वासुदेवले बताए ।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिमा परेका परिवारको दुःखमा सम्पूर्ण समाज एकजुट भएर उभिनुपर्ने आवश्यकता औँल्याउँदै  राहत, उद्धार र पुनःस्थापनाका भौतिक प्रयाससँगै पीडित परिवारलाई आध्यात्मिक, मानसिक तथा मानवीय सहारा पनि आवश्यक रहेको उनले बताए ।
विपत्तिमा परेकाहरूको दुःखमा साथ दिनु नै मानवताको धर्म हो भन्ने भावनासहित सम्पन्न यस अनुष्ठानले धार्मिक आस्थालाई मानवीय संवेदनासँग जोड्दै विपत्तिको समयमा समाजमा करुणा, सेवा, प्रार्थना र एकताको चेतना अझ सुदृढ गर्नुपर्ने सन्देश दिएको छ ।
 उक्त पञ्चमहालक्ष्मी मठ अनन्त श्री विभुषित कमलयनाचार्य  (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा सन्चालन हुँदै आएको छ ।

Leave Your Comment

Related News