काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिएको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका अधिकारीले जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन रहेको भनिए पनि ती सबै सुरुङभित्र फसेका व्यक्ति नभएको स्पष्ट पारे।
‘परियोजनाले ९ सय हाराहारी मानिस टनेलभित्र फसेको भने पनि त्यो सबै सङ्ख्या टनेलभित्र फसेको होइन,’ सेनाका अधिकारीले भने, ‘टनेलभित्र हाराहारी १२१ जना मात्रै फसेको देखिन्छ।’
सेनाका अनुसार भोटेकोशी बाढीबाट रसुवामा रहेका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीका कारण आयोजनाका संरचना तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।
यसैबीच, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भने बाढीमा परी ९८३ जना सम्पर्कविहीन भएको बताउँदै आएको छ।
सेनाको पछिल्लो विवरण र इप्पानले सार्वजनिक गरेको सम्पर्कविहीनको सङ्ख्यामा ठूलो अन्तर देखिएपछि बाढी प्रभावित जलविद्युत् आयोजनामा रहेका कामदार तथा अन्य व्यक्तिको वास्तविक अवस्थाबारे थप खोज तथा उद्धार आवश्यक देखिएको छ।



