RE
Global College

दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पर्ने बताएका छन् ।

कोइरालाले जारी गरेको विज्ञप्ति :

प्रिय साथीहरु,

जय नेपाल ।

अत्यन्त गम्भिरतापूर्बक साथीहरु माझ म पत्र मार्फत बर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको बिभाजनवारे आफ्‌नो बिचार संक्षिप्तमा राख्न गैरहेको छु ।
साथीहरु,

कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव र सफलता–बिफलता आउँछन । नेतृत्वले समझदारीपूर्बक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ नत्र कैयन राष्ट्रले आफ्‌नो अस्तित्व गुमाएको इतिहाँस हामी सबैलाई बिदितै छ । नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ ।

हामी नेपालीे एकाकार भएकै कारण कहिल्यै कसैको अधिनमा बस्नु नपरेको गौरवशाली इतिहाँस निर्माण गर्न सकेका छौं। त्यस्तै नेपाली कांग्रेसको पनि आफ्‌नै गौरवशाली इतिहाँस छ ।

कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन । पद, प्रतिष्ठा र प्रलोभनमा नपरी बिगतमा हाम्रा संस्थापक नेताहरुले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्ति सहितको कांग्रेस छाडेर गएका छन । यसको इतिहाँस संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ ।

सबैका प्रणेता र मूूर्धन्य नेता बिपी कोइराला लगायत यस पार्टीका संस्थापक नेताहरुको राजनीतिक, नैतिक, सामाजीक र सांस्कृतिक जीवन दर्शनले सदासर्बदा हामी तमाम कांग्रेसजनको लागि मात्र होइन सम्पुुर्ण नेपाली जनतालाई गौरवान्वित बनाइरहने छ ।

दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन । मलाई यसबाट पिडा छ र मेरो पिडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस भन्ने चाहन्छन ।

मेरो पिडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं एउटा मध्यमार्गी र बिवेकपूर्ण समझदारीको बाटो खोजौं । मेरो प्रयत्न बिगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ । हामी जो आफुलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरब पनि अनुुभब गर्छौं । किमार्थ पनि मानसिक रुपमा यति कमजोर र निरिह नहुनुपर्ने हो, जति आज छौं । हामीले बिरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन अजेय पनि थियो । दुःखका साथ भन्नुुपर्छ आज हामी न अजेय छौं, न बिजय नै छौं । हामी बिभाजित, बिघटनकारी र समुद्रमा गन्तब्य हराएको माझि झैं भएका छौं ।

हामी किन यस्तो छौं ? किन हामीलाई रसुवा, नुवाकोट, धादिङ्ग लगायत स्थानमा भएको बिपत्तीले पिडा दिदैन ? किन हामी आज प्राकृतिक प्रकोपको कारण अभाव र बञ्चनामा परेका र जीवन गुुमाएकाहरुसँग संबेदनशिल हुन सक्दैनौं ? नेपाली जनता रोइरहेका छन, सर्बसाधारणहरु चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुुमाएर चेतनाशुन्य भएर बसेका छन । उनीहरूको दर्द र पिडा किन हामी बुभ्‌न सकिरहेका छैनौं ? हामी के गर्दैछौं ? हामी किन कानुन र बिधानका धाराहरुबाट बाध्य झैं पारिएर मानबीय संबेदनासँग खेलवाड गर्दैछौं ?

किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराईरहेको घाउको मल्हम बन्न हामी सकिरहेका छैनौं र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख भैरहँदा भावी पुस्तालाई कसरी आफुुसँग जोड्न सक्छौं ?

मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरुबाट कांग्रेस बिचलित हुँदा स्वभाविक छ मेरो मन पनि उद्धेलित हुँनजान्छ । म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छुु ? कांग्रेस हुँ भन्ने तर आफ्‌नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन । कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी बिजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ ।

बिश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता बिपी कोइरालालाई स्मरण गर्न पुग्दछु र सोच्दछु, आफ्‌नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ति महापुुरुषलाई साक्षि राखेर हामी किन एकताबद्ध हुन नसकेको होला ।

मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भैरहेको पनि छुु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।

साथीहरु,

म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न । हामी सफल हुन्छौं भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो संभव छ । हाम्रो बिवेक मरेको छ भन्ने कुरामा म किमार्थ बिश्वास गर्दिन । हामी उठ्छौं जुट्छौं र जित्छौं

यही भरोसा र बिश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुुटन सक्छ । यस अभियानमा म गाउँ टोलदेखी केन्द्रहुँदै बिदेश सम्म बस्ने साथीहरुलाई पार्टीलाई एकताबद्घ राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु । कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरकरुपमा बुझ्न सक्दिन । म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईहरुसँग भेट्न गाउँघर आईरहने छु ।

जय नेपाल ।

डा शेखर कोइराला
मिति : असोज १, २०८३

Leave Your Comment

Related News