काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १७ अंक घटेर बन्द भएको छ । गत साता २६४७.२२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १७.४१ अंक अर्थात् ०.६६ प्रतिशतले घटेर २६२९.८१ विन्दुमा बन्द भएको हो ।
सार्वजनिक विदा तथा प्राविधिक समस्याका कारण यो साता जम्मा ३ दिन मात्रै सेयर बजार खुलेको थियो । जसमा दुई कारोबार दिन बजार बढेको थियो भने एक कारोबार दिन घटेको थियो । बजारमा दुई दिनको बढाइ भन्दा एक दिनको घटाइ उच्च हुँदा यो साताको समग्र बजार नकारात्मक देखिएको हो । यो साता फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक घटेको छ ।
नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ६ अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम २.६५ प्रतिशत बढी हो । त्यस्तै, यो साता दैनिक औषत सेयर संख्या २२.९८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.३४ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पूँजीकरण भने ०.६६ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको सेयर बजारको कुल बजार पूँजीकरण यो साता २९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । यो साता १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै एक उपसमूहको परिसूचक यस साता स्थिर रहेको छ । यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। गत साता १० हजार ७१२.६६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ ।
यो साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत घटेको छ । गत साता ३६६५.०८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता ६१.६७ अंक घटेर ३६०३.४१ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंक घटेको छ ।



