RE
Global College

सार्वजनिक सवारी दर्ता रोकिँदा फ्युचर मोटर्सको व्यापार घट्यो, ऋण भुक्तानी क्षमता भने बलियो

काठमाडौं । विद्युतीय सवारीसाधन बिक्री-वितरण गर्दै आएको फ्युचर मोटर्स प्राइभेट लिमिटेड (एफएमपीएल) ले चालु आर्थिक वर्षको समीक्षा अवधिमा रु. १ अर्ब ५९ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले ८० करोड  रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ कर्जाका लागि ‘आईआरएन ए४’ (IRN A4) रेटिङ प्राप्त गरेको छ।

अटोमोबाइल क्षेत्र, बिक्री, डिलरसिप र सर्भिस व्यवस्थापनमा एक दशकभन्दा लामो अनुभव भएका प्रवर्द्धक गोविन्द घिमिरेको नेतृत्वमा सञ्चालित एफएमपीएलले पछिल्ला वर्षहरूमा आफ्नो सञ्चालन दायरामा उल्लेख्य वृद्धि हासिल गरेको छ। सिजी मोटर्सको बलियो डिलरसिप साथ, विद्युतीय प्यासेन्जर भ्यानको उच्च माग र बजार विस्तारका कारण कम्पनीको कुल सञ्चालन आम्दानी आव २०७९/८० को रु. २१ करोड ९० लाखबाट बढेर आव २०८१/८२ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ पुगेको थियो। यद्यपि, यातायात व्यवस्था विभागले २०८३ जेठ ८ गतेदेखि देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएपछि आव २०८२/८३ मा कम्पनीको आम्दानी १८ प्रतिशतले घटेर  १ अर्ब ५९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

आम्दानीमा केही गिरावट आए पनि कम्पनीले आफ्नो पुँजी संरचनालाई न्यून वित्तीय भार (कम कर्जाको संरचना) मा राख्न सफल भएको छ, जसअनुसार २०८३ असार मसान्तसम्म कुल गियरिङ अनुपात ०.६९ गुणा मात्र रहेको छ। साथै, कुल दायित्व र खुद सम्पत्ति अनुपात आव २०७९/८० को १०.९७ गुणाबाट घटेर आव २०८२/८३ मा ३.९८ गुणामा झरेको छ। कम ऋण र सञ्चालन नाफामा आएको सुधारका कारण कम्पनीको ब्याज भुक्तानी क्षमता (ब्याज कभरेज अनुपात) ऋणात्मक १.१७ गुणाबाट सुधार भई ८.७० गुणा पुगेको छ। कुल नगद सञ्चिति रु. ५० लाखबाट बढेर रु. २ करोड ९० लाख पुगेको र कुल ऋण तथा सञ्चालन नाफा (इबिट्डा) को अनुपात घटेर १.६६ गुणामा झरेकाले कम्पनीको समग्र ऋण भुक्तानी क्षमता थप मजबुत भएको देखिन्छ।

आव २०७९/८० देखि व्यापार सुरु गरी करिब ४ वर्षको छोटो अवधिमै कम्पनीले मुख्य गरी विद्यालय, संस्थागत र पर्यटन जस्ता क्षेत्रका लागि ११, १४ र १६ सिटे अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यानहरूको कारोबार गर्दै आएको छ। शाखा विस्तार र बजार पहुँच सुदृढ भएसँगै कम्पनीको कुल सञ्चालन आम्दानी आव २०७९/८० देखि आव २०८२/८३ सम्म ९३ प्रतिशतको वार्षिक चक्रवृद्धि दरले बढेको छ।

आम्दानीको दायरा तीव्र रूपमा बढे तापनि कम्पनीको खुद नाफाको दर भने निकै कम रहेको छ। आव २०८०/८१ देखि २०८२/८३ को अवधिमा कम्पनीको सञ्चालन नाफा (इबिट्डा) मार्जिन १.९९ देखि २.७५ प्रतिशतको सामान्य स्तरमा सीमित छ भने खुद नाफा मार्जिन आव २०८१/८२ को १.४३ प्रतिशतबाट घटेर आव २०८२/८३ मा १.३४ प्रतिशतमा झरेको छ। नाफाको दर कमजोर भएकै कारण कुल नगद सञ्चिति पनि अघिल्लो वर्षको रु. ३ करोड ६० लाखबाट घटेर रु. २ करोड ९० लाखमा सीमित हुन पुगेको छ। लागत वा आम्दानीमा हुने सानो उतारचढावले पनि नाफामा ठूलो असर पार्ने भएकाले यो साँघुरो नाफाको दर कम्पनीको कर्जा जोखिमको मुख्य विषय बनेको छ।

यसका साथै, अटोमोबाइल क्षेत्रको चक्रीय उतारचढाव, उपभोक्ताको क्रयशक्ति र मूल्यप्रतिको संवेदनशीलताले व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। बजारमा एमएडब्ल्यु वृद्धि, भिजी मोटर्स, इको अटो नेपाल र हेंगशुन ट्रेडर्स जस्ता स्थापित तथा नयाँ प्रतिस्पर्धीहरूको उपस्थितिले बजारमा मोलमोलाइ क्षमता र नाफाको दरलाई थप नियन्त्रणमा राख्ने जोखिम छ। तीव्र प्रतिस्पर्धाबिच नाफाको दायरा बढाउँदै अघि बढ्नु कम्पनीका लागि आगामी दिनको मुख्य परीक्षण हुने देखिन्छ।

Leave Your Comment

Related News