CLI
Global College

स्वचालित मार्गबाट ३१ उद्योगको लागि ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता

काठमाडौं । उद्योग विभागका स्वचालित मार्गबाट करिब ६० करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित ३१ वटा उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष साउन महिनामा ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धतासहित ३१ वटा उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै सूचना प्रविधिमूलक र पर्यटनमूलक उद्योग छन् । साउन महिनामा सूचना प्रविधिजन्यमा २० करोड २५ लाख ५० हजार रुपैयाँ, सेवामूलकमा १६ करोड रुपैयाँ, पर्यटनमूलकमा १४ करोड रुपैयाँ, उत्पादनमूलकमा ७ करोड ५० लाख रुपैयाँ र पूर्वाधारमूलक उद्योगमा २ करोड १० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाउँदै उद्योग दर्ता गरेका छन् । जसमा सूचना प्रविधिजन्य २२ वटा, सेवामूलक २ वटा, पर्यटनमूलक ४ वटा, उत्पादनमूलकमा २ वटा र पूर्वाधारमूलक १ वटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । विभागका निर्देशक शंकर सिंह धामीले स्वचालित मार्ग कार्यान्वयनमा ल्याए सँगै उद्योग तथा व्यवसया सञ्चालनका लागि लगानी प्रतिवद्धता निरन्तर आएको बताएका छन् । स्वचालित मार्ग कार्यान्वयनमा आए सँगै १६ करोड रुपैयाँ लगानी प्रतिवद्धता समेत आएको उनको भनाई छ ।

‘लगानी सम्मेलन २०२४’ मार्फत कार्यान्वयनमा ल्याइएको स्वचालित मार्गमार्फत विदेशी लगानीकर्ताले नेपालमा लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म भएको उद्योग तथा व्यवसाय आउनसक्ने व्यवस्था गरिएको छ । विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्बद्ध निकायहरूलाई प्रणालीमार्फत नै स्वचालितरूपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण मानिएको छ । उक्त प्रणालीमार्फत विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता मात्र जनाउन सक्नेछन् ।

लगानीको लागि पहिलो चरणको काम भने स्वचालित मार्गबाट हुनेछ । जसले गर्दा लगानी प्रतिबद्धता मात्र गर्नका लागि नेपाल आइरहने प्रवृत्तिबाट लगानीकर्ता मुक्त हुनेछन् । विदेशी अर्थात् लगानीकर्ताले लगानी नेपालको ऐन, नियममा रही लगानी प्रतिबद्धता प्रणालीमार्फत जनाउँछन् त्यसलाई विभागले स्वीकृत गर्दछ । लगानी रकम स्वीकृतपछि उनीहरू नेपाल आउने वा नेपालमा रहेका प्रतिनिधिमार्फत उद्योग दर्ता, परियोजा प्रस्ताव, कम्पनी दर्ता, साझेदारिता, उत्पादन विवरण, जग्गा प्राप्ति, भिसा प्राप्तिलगायतका प्रक्रियाहरू अघि बढाउन सक्नेछन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट आउने विदेशी लगानीलाई सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्नसक्ने व्यवस्था गरेको हो । साथै, स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा समेत तोकिएको छ । स्वचालित मार्गबाट आउने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय तोकिएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्नका लागि स्वचालित मार्गका लागि नयाँ नीति लिएको विभागका अधिकारीहरूले बताएका छन् । यसअघि स्वचालित मार्गबाट १० करोड रुपैयाँसम्म लगानी स्वीकृति गर्ने व्यवस्था थियो । सो समयमा स्वचालित मार्गबाट १० करोड रुपैयाँ लगानी स्वीकृति दिने र सात दिनभित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने, लगानी स्वीकृति र उद्योग सञ्चालनसम्बन्धी बाँकी प्रक्रिया छ महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

Leave Your Comment

Related News