काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा सञ्चालित निजी होटल तथा रेस्टुरेन्टहरूमा ठूलो जनधनको क्षति भएको छ। द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार सो क्षेत्रका ६१ वटा होटल तथा रेस्टुरेन्टहरूमा कुल १२ करोड ७१ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ।
बाढीका कारण यस क्षेत्रका १० वटा होटल तथा रेस्टुरेन्टहरूमा गरी कुल २४ जनाको ज्यान गएको पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी मानवीय क्षति होटल हराइजन भ्युमा ७ जना र श्रेष्ठ होटलमा ६ जनाको मृत्यु भएको छ। त्यसैगरी, उत्तरगङ्गा होटल एन्ड लज, अङ्कल ड्राइभर बुढा र नेवा घर धादिङ होटलमा २-२ जना तथा होटल दिसु, मगर होटल, गोसाइँकुण्ड होटल, सम्झौता होटल र सपना खाजा घरमा १-१ जनाको मृत्यु भएको छ।
भौतिक संरचनाकातर्फ सबैभन्दा बढी क्षति नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा रहेको हयाप्पी होम रिसोर्टमा भएको छ। साढे २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त रिसोर्ट बाढीले पूर्ण रूपमा बगाएर नष्ट बनाएको छ।
त्यस्तै, २-२ करोड रुपैयाँको लागतमा बनेका केरुङ हाइवे रिसोर्ट र होटल मञ्जरी पनि पूर्ण रूपमा क्षति भएका छन्। १ करोड २० लाख रुपैयाँ लागतको होटल याङ्ग्रा र १ करोड १० लाख रुपैयाँ लागतको साइलेन्स होटलमा पनि बाढीले पूर्ण क्षति पुर्याएको छ।
यसबाहेक ५० लाख रुपैयाँ लागतका २ वटा, २५ लाख रुपैयाँ लागतका ३ वटा, २० लाख र १५ लाख रुपैयाँ लागतका १-१ वटा तथा १० लाख रुपैयाँ लागतका ३ वटा होटल संरचनाहरू पूर्ण रूपमा नष्ट भएका छन्। बाँकी प्रभावित होटल तथा रेस्टुरेन्टहरू भने ५ लाख रुपैयाँभन्दा कम लागतका रहेका छन्।
होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीका अनुसार विपद्पछि प्रभावित व्यवसायीहरूलाई पुनरुत्थान गरी पुनः साविककै पेसामा फर्काउन महासङ्घ र स्थानीय संघ-संस्थाहरूको समन्वयमा राहत तथा सहयोगका पहलहरू अगाडि बढाइएका छन्। बाढी प्रभावित क्षेत्रमा वास्तविक क्षति सङ्कलनका लागि महासङ्घको सहकार्यमा ५ जनाको टोली खटाइएको वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिए।
महासङ्घका अनुसार बाढीका कारण ज्यान गुमाएका होटल व्यवसायीका परिवारलाई काजकिरिया खर्चबापत प्रतिव्यवसायी २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। त्यसैगरी, नुवाकोट र रसुवाका १५ जना प्रभावित व्यवसायीहरूलाई काठमाडौँ जिल्ला होटल व्यवसायी संघको पहलमा प्रतिव्यवसायी ४२ हजार रुपैयाँका दरले तात्कालिक आर्थिक राहत वितरण गरिएको छ।
बाढीका कारण भौतिक संरचना र महत्त्वपूर्ण कागजातहरू नष्ट भए पनि बैंकको ऋण र ब्याज भने कायमै रहेकाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको उप्रेतीले बताए।
यस कठिन अवस्थालाई सम्बोधन गर्दै ऋणको ब्याज मिनाहा, पुनर्कर्जा र विशेष राहत प्याकेज उपलब्ध गराउनका लागि प्रधानमन्त्री, अर्थ मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय निकायहरूमा महासङ्घमार्फत ज्ञापनपत्र बुझाइसकिएको वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिएका छन्।




