काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ११ जना उम्मेदवारहरूको आवेदन स्वीकृत भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले स्वीकृत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गर्दै सिंहदरबारस्थित मन्त्रालयमा आगामी असोज २५ गते आइतबार र असोज २६ गते सोमबार अन्तर्वार्ता हुने जनाएको छ।
कार्यतालिका अनुसार असोज २५ गते आइतबार बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म समूह ‘क’ मा रहेका अमर दीप सापकोटा, जयन्ती ओझा, जेनिस पहारी र डम्बर बहादुर बुढाथोकीको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। सोही दिन दिउँसो १:३० देखि ३:०० बजेसम्म समूह ‘ख’ का उम्मेदवारहरू दीपा पाण्डे, नरेश कुमार के.सी. र नरेश कुमार पौड्यालको अन्तर्वार्ता तोकिएको छ। त्यस्तै असोज २६ गते सोमबार बिहान ९:०० देखि ११:०० बजेसम्म समूह ‘ग’ मा रहेका उम्मेदवारहरू निशा अधिकारी, भगवती कुमारी (मैनाली) उप्रेती, मनिष पण्डित र सुवास कोइरालाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता निर्धारण गरिएको छ।
मन्त्रालयका अनुसार सबै उम्मेदवारहरूले तोकिएको समयभन्दा ३० मिनेट अगावै कार्ययोजनाको सफ्टकपी र पेस गरिएका कागजातहरूको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ। प्रत्येक उम्मेदवारका लागि कार्ययोजना प्रस्तुतीकरण गर्न १५ मिनेटको समय र बाँकी समय अन्तर्वार्ताका लागि छुट्याइएको छ। सिंहदरबार प्रवेशका लागि गेटपास वा अन्य जानकारी आवश्यक परेमा उपलब्ध गराइएको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।





