RE
Global College

इजरायल पठाइदिने भन्दै साढे २ करोड ठगी

काठमाडौं । इजरायलमा जीटूजी प्रक्रियामार्फत केयरगिभरमा पठाइदिने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले उजुरी आह्वान गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारजना पक्राउ परिसकेको जनाउँदै उनीहरूबाट ठगीमा परेको भए आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो ।

रामेछापको सुनापति गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ५९ वर्षीय चौलागाईँ नेपाली कांग्रेससम्बद्ध नेता हुन् । पक्राउ परेकी बालिका शिवाकोटी कांग्रेससम्बद्ध नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।

सीआईबीका अनुसार सन् २०२४ मा इजरायलमा केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीलाई लक्षित गरी गिरोहले ठगी गरेको हो । परीक्षामा सहभागी ३ हजार ४ सय ६१ जनामध्ये १ हजार १ सय ५२ जना प्रतीक्षा सूचीमा थिए ।

इजरायल जाने आशामा रहेका परीक्षार्थीको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै उनीहरूलाई जीटूजी प्रक्रियाबाट रोजगारीमा पठाइदिने भन्दै रकम असुल गरिएको सीआईबीले जनाएको छ ।

गिरोहले पीडितलाई विश्वास दिलाउन मन्त्रिपरिषद्को निर्णय भएको भन्दै नक्कली कागजातसमेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिलाई इजरायल पठाइदिने भन्दै ठूलो रकम संकलन गरी ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

NECO

Leave Your Comment

Related News