काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको तार परिवर्तन गर्ने कामका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले असोज २४ र २५ गते प्रसारण लाइनको पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेको हो। यसका लागि दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ।
आयोजनाअन्तर्गत मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गरिनेछ। उक्त लाइनको एउटा सर्किटमा करिब ४०० मिटर तार परिवर्तन गर्न बाँकी रहेको छ।
तार परिवर्तनपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ। यसबाट विद्युत् प्रणालीको विश्वसनीयता र आपूर्तिको गुणस्तर सुधार गर्नसमेत मद्दत पुग्नेछ।
प्रसारण लाइन बन्द रहने समयमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ। निर्धारित समयभित्र काम सम्पन्न गर्ने गरी प्राविधिक तयारी गरिएको भए पनि मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने आयोजनाले जनाएको छ।
प्राविधिक कामका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।



