RE
Global College

विकास बैंकहरुको खुद नाफामा १२.२८ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा नेपालका विकास बैंकहरूले राम्रो वित्तीय प्रगति हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकले यी दुई महिनामा कुल १ अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा विकास बैंकहरूले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। अर्थतन्त्रमा देखिएको सुस्तता र खराब कर्जाको दबाबका बाबजुद विकास बैंकहरूको समग्र नाफामा देखिएको यो वृद्धि सन्तोषजनक मानिएको छ।

बैंकहरूको व्यक्तिगत कार्यसम्पादनमा भने केही रोचक फेरबदल आएका छन्। लामो समयदेखि पहिलो स्थानमा रहँदै आएको मुक्तिनाथ विकास बैंकलाई पछि पार्दै गरिमा विकास बैंक नाफाको शीर्ष स्थानमा पुगेको छ। चालु आर्थिक वर्षको दुई महिनामा गरिमाको नाफा ४.८१ प्रतिशतले बढेर २८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। तर, मुक्तिनाथको नाफा भने ३०.५० प्रतिशतले घटेर २५ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ८४ लाख, कामना सेवा विकास बैंकले १९ करोड २६ लाख र ज्योति विकास बैंकले १८ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका छन्। महालक्ष्मी विकास बैंकको नाफामा सबैभन्दा धेरै ७० प्रतिशतको छलाङ आएको छ र यसको नाफा १८ करोड २७ लाख रुपैयाँ पुगेको छ।

उता केही बैंकहरूको नाफा भने खस्किएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घटेर ९ करोड ७८ लाख रुपैयाँमा झरेको छ भने राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकको नाफा पनि ६८.४८ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। यसबाहेक, मितेरीले २ करोड २२ लाख, ग्रिनले १ करोड ६७ लाख, कर्पोरेटले ३० लाख र सप्तकोशी डेभलपमेन्ट बैंकले १८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

समग्रमा क्षेत्रको नाफा बढे पनि अझै पनि ५ वटा विकास बैंकहरूको अवस्था भने घाटामा वा ऋणात्मक रहेको छ। चालु आर्थिक वर्षको दुई महिनामा सालपा विकास बैंक ६ लाख, नारायणी डेभलपमेन्ट बैंक ३१ लाख, सिन्धु विकास बैंक ७७ लाख, एक्सेल डेभलपमेन्ट बैंक ८६ लाख र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ५० लाख रुपैयाँ घाटामा रहेको तथ्याङ्कले देखाएको छ।

NECO

Leave Your Comment

Related News