काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान सुरक्षित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण र निर्णायक मानिएको छ।
नेपालले शृङ्खलाको सुरुवात राम्रो गर्दै पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। तर तेस्रो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको अंकतालिकामा धक्का पुगेको छ। क्यानडाले नेपाललाई हराएसँगै ३६ खेलबाट २९ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ भने नेपाल ३५ खेलबाट २८ अंकसहित सातौँ स्थानमा झरेको छ।
आज ओमानविरुद्ध जित निकालेमा नेपालले ३० अंक पुर्याउँदै क्यानडालाई पछि पारेर पुनः छैटौँ स्थानमा उक्लिनेछ। पछिल्लो खेलको हारलाई बिर्सेर शीर्ष ६ मा फर्किने र शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ।




