Global College

आईजीपी कार्कीको राजीनामाबारेको प्रचार भ्रमपूर्ण,नेपाल प्रहरीद्वारा कानुनी कारबाहीको चेतावनी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने बताएको छ। सुरक्षा जोखिमका साथै संगठनको छवि र निष्मामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रमपूर्ण र तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरेको छ।

विज्ञप्तिमा संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले गम्भीर रूपमा लिएको उल्लेख छ। प्रचलित कानुनबमोजिम जिम्मेवारी पूरा गर्दै आएको सुरक्षा संगठनलाई विवादमा तानेर कमजोर बनाउन खोज्ने त्यस्ता व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानूनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानूनी दायित्व पूरा गर्न कटिबद्ध रहेको जनाइएको छ। साथै, सकल दर्जाका कर्मचारीहरूलाई उच्च मनोबलका साथ एकजुट भई आआफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै प्रहरीले आम नागरिकलाई आधिकारिक र तथ्यमा आधारित समाचारमा मात्र विश्वास गर्न आग्रह गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा जिम्मेवार सूचना सम्प्रेषणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News