काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्यको खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने कार्यशैली लोकतान्त्रिक आचरण अनुकूल हुन नसक्ने स्पष्ट पारेको छ। प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको पार्टीको ठहर छ।
प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति वा कानुनी प्रश्न उठेमा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत राज्यका स्थापित विधि र वैधानिक निकायहरू क्रियाशील रहेको स्मरण गराउँदै रास्वपाले ती कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको उल्लेख गरेको छ।
रास्वपाले गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको यथार्थ छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, कुनै पनि भय, त्रास वा दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य र निष्ठाको पत्रकारिता जारी राख्न आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता प्रकट गरेको छ।



