Global College

नेपाल आइपुगे सात देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा आएका उनीहरूले पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्यको भ्रमण गरी भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, वन्यजन्तु, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभर पुर्‍याउनेछन् ।

उनीहरूमध्ये तीन जना यूएई र ट्युनिसियाका क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

कार्यक्रमअन्तर्गत बंगलादेश, श्रीलंका, ट्युनिसिया र यूएईका क्रिएटरले पोखराका पर्यटकीय आकर्षण समेट्नेछन् । फ्रान्सका क्रिएटरले चितवनको वन्यजन्तु, निकुञ्ज र थारू संस्कृति प्रस्तुत गर्नेछन् भने पोर्चुगल र दक्षिण कोरियाका क्रिएटरले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनलाई प्राथमिकता दिनेछन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले स्थानीय संस्कृति, खानपान, आतिथ्य सेवा, साहसिक गतिविधि र मौलिक पर्यटकीय अनुभव समेटेर सामग्री उत्पादन गर्नेछन् । ती सामग्रीले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनटीबी र टिकटकबीच १९ अगस्ट २०२५ मा नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘#LifetimeExperiences’ अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाइएको बोर्डले जनाएको छ ।

NECO

Leave Your Comment

Related News