काठमाडौं । ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका गौरीशंकर पण्डितले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। सरकारले सर्वसाधारणमा सामान किन्दा बिल लिने बानीको विकास गर्न सुरु गरेको ‘करदाता प्रोत्साहन योजना’ अन्तर्गत उनी कात्तिक महिनाको पहिलो पाक्षिक (१ देखि १५ गतेसम्म) अवधिको लक्की ड्रमार्फत बम्पर विजेता बनेका हुन्।
धनुषाको नगराइन नगरपालिका–९ घोरघास स्थायी घर भई हाल ललितपुर बस्दै आएका पण्डितले कात्तिक ५ गते बिगमार्टमा तोरीको तेल किनेर ई-सेवा मार्फत भुक्तानी गरेका थिए। सोही विद्युतीय भुक्तानी र खरिद बिल लक्की ड्रमा छनोट भएपछि उनले १० लाख रुपैयाँको भाग्यशाली पुरस्कार प्राप्त गरेका हुन्।
अर्थ मन्त्रालयमा आयोजित औपचारिक पुरस्कार घोषणा कार्यक्रममा उनलाई फोन गरेर बम्पर विजेता बनेको जानकारी दिइएको थियो। सुरुमा पुरस्कारबारे जानकारी पाउँदा अचम्ममा परेका पण्डितले आफू नेपाल प्रिमियर लिग ) को टोली ‘जनकपुर बोल्ट्स’को समर्थक भएको बताएका थिए। त्यसक्रममा कार्यक्रम स्थलमै रहेका जनकपुर बोल्ट्सका खेलाडी एवं राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले पण्डितलाई टेलिफोनबाटै बधाई दिए।
फोन संवादमा पण्डितले पुरस्कार बापत पाउने रकमबाट घर बनाउने इच्छा व्यक्त गरेका छन्। उनलाई खरिद गरिएको सक्कल बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कागजी प्रक्रिया पूरा गर्न आयोजकले आग्रह गरेको छ।
आयोजकका अनुसार कात्तिक १ देखि १५ गतेसम्मका बिलहरूलाई समावेश गरी गरिएको छनोटमा १५ जना दैनिक विजेता र १ जना बम्पर विजेता गरी कुल १६ जना भाग्यशाली ग्राहक चुनिएका छन्। आवश्यक प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौँमा आयोजना हुने एक विशेष समारोहका बीच अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिनेछ।
उपभोक्ताहरूलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल माग्ने र लिने संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।




