Global College

रुसी बमबारीमा युक्रेनको सहायता केन्द्रमा २६ जनाको मृत्यु

काठमाडौं । युक्रेनको दक्षिणी जापोरिझा क्षेत्रस्थित एक मानवीय सहायता केन्द्रमा रुसी बमबारी हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युक्रेनी नेतृत्वले यसलाई भीषण आक्रमण भनेको छ ।

कोमिसुभाखा गाउँमा कम्तीमा नौवटा तीन हजार किलोका हवाई बम खसालिएको क्षेत्रीय प्रमुख माइखाइलो सेमिकिनले बताए । आक्रमणमा पाँचजना घाइते भएका छन् । सुरुमा २७ जना बेपत्ता भएको बताइएको थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्थानीय विद्यालयलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो । त्यहाँ पहिलो आक्रमण भएपछि मानिसहरूले आश्रय लिएको स्थानमा दोस्रो आक्रमण गरिएको थियो ।

सोमबारको आक्रमणपछि घटनास्थलमा बनेको ठूलो खाल्डो र भग्नावशेषमा उद्धार टोलीले खोजी गरिरहेको भिडियो जेलेन्स्कीले सार्वजनिक गरेका छन् । रुसी सेनाले घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन । जेलेन्स्कीले सुरुमा मृतकको संख्या १८ बताएका थिए । सोमबार अबेर भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले मृतकको संख्या २६ पुगेको जानकारी दिएका हुन् ।

जेलेन्स्कीका अनुसार कोमिसुभाखामा बाँकी रहेका स्थानीय बासिन्दाले हरेक सोमबार मानवीय सहायता प्राप्त गर्ने गरेको र रुसी पक्ष यसबारे अनभिज्ञ हुन नसक्ने बताएका छन् । उनले यो आक्रमणले रुस तनाव कम गर्न इच्छुक नरहेको देखाएको आरोप लगाए । आक्रमणको शोकमा मंगलबार जापोरिझा क्षेत्रमा एक दिन शोक घोषणा गरिएको छ ।

NECO

Leave Your Comment

Related News