काठमाडौं । नेपालका फाइनान्स कम्पनीहरु नाफा कमाउने थालेका छन् ।आर्थिक वर्ष ८२/८३ पहिलो तीन महिनामा ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेका यी कम्पनीहरूले यस वर्षको सोही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। खुद ब्याज आम्दानीमा देखिएको सुधार र केही कम्पनीले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घटाउन सकेका कारण समग्र नाफामा सकारात्मक प्रभाव परेको हो ।
एस आवदीमा आईसीएफसी फाइनान्स सबैभन्दा अगाडि देखिएको छ । गत वर्ष २ करोड २४ लाख रुपैयाँ मात्र नाफा कमाएको यस कम्पनीले चालु आवको पहिलो त्रैमासमा २१०.७९ प्रतिशतको आकर्षक छलाङ मार्दै ६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
त्यसैगरी, अघिल्लो वर्ष घाटामा रहेका गोर्खाज र बेस्ट फाइनान्सले सानदार पुनरागमन गरेका छन् । गोर्खाज फाइनान्स ४ करोड २४ लाखको घाटा पूर्ति गर्दै यसपालि ६ करोड ७४ लाख रुपैयाँ नाफामा उक्लिएको छ भने बेस्ट फाइनान्स ५ करोड ४७ लाख घाटाबाट २ करोड १४ लाख रुपैयाँ नाफामा फर्किएको छ। यता, मञ्जुश्री र मल्टिपर्पस फाइनान्सको नाफामा भने क्रमशः ४८.५७ प्रतिशत र ७५.९३ प्रतिशतले गिरावट आएको छ। घाटामा रहेका रिलायन्स, पोखरा, नेपाल र गुहेश्वरी फाइनान्सले आफ्नो घाटा रकमलाई अघिल्लो वर्षको तुलनामा घटाउन भने सफल भएका छन्।

फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । १४ कम्पनीको खुद ब्याज आम्दानी २३.२१ प्रतिशत बढेर १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ८८ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको २३ करोड ३ लाख रुपैयाँ छ । आईसीएफसी फाइनान्सको १८ करोड ६३ लाख, रिलायन्स फाइनान्सको १० करोड ६५ लाख र गोर्खाज फाइनान्सको ९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी छ ।
वृद्धिदरका आधारमा जानकी फाइनान्स अगाडि छ । कम्पनीको खुद ब्याज आम्दानी २५१.०३ प्रतिशत बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ । रिलायन्स फाइनान्सको ६२.९६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४६.८५ प्रतिशत र बेस्ट फाइनान्सको ४५.५६ प्रतिशत बढेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको भने खुद ब्याज आम्दानी २०.४९ प्रतिशत घटेको छ ।
ब्याज आम्दानी बढे पनि ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि छुट्याउनुपर्दा कम्पनीहरुको नाफामा दबाब परेको देखिन्छ । यद्दपि, केही कम्पनीको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको र केहीले रिभर्स गरेकाले समग्र नाफामा सुधार आएको हो ।




