Global College

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत, ट्रम्पको पार्टी पराजित

काठमाडौं । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा बहुमत हासिल गरेको छ। डेमोक्रेटिक पार्टीले करिब २५५ सिट जित्ने देखिएको छ। यो झण्डै दुई दशकयताकै सबैभन्दा ठूलो बहुमत हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीका नीतिप्रति मतदाताले असन्तुष्टि व्यक्त गरेपछि डेमोक्रेटिक पार्टीले उल्लेखनीय सफलता हासिल गरेको हो।

प्रतिनिधिसभामा बहुमत कायम गर्न आवश्यक २१८ सिटभन्दा डेमोक्रेटिक पार्टीले निकै बढी सिट जित्ने प्रक्षेपण गरिएको छ। बहुमत फिर्ता ल्याउन पार्टीलाई केवल तीन सिट थप जित आवश्यक थियो। तर, पूर्वी तटीय क्षेत्रदेखि टेक्सासको रियो ग्रान्डे भ्यालीसम्म रिपब्लिकन पार्टीका धेरै सिट डेमोक्रेटिक पार्टीले खोसेको छ। तीमध्ये अधिकांश निर्वाचन क्षेत्र सन् २०२४ मा ट्रम्पले जितेका थिए।

पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका चार जना बहालवाला सांसद पराजित भएका छन्। डेमोक्रेटिक उम्मेदवार बब हार्भीले रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकलाई हराएका छन्। त्यस्तै, सातौँ निर्वाचन क्षेत्रमा बब ब्रुक्सले रायन म्याकेन्जीलाई, आठौँ क्षेत्रमा पेज कोग्नेटीले रोब ब्रेशनाहानलाई र दशौँ क्षेत्रमा जेनेल स्टेल्सनले पूर्व फ्रिडम ककस अध्यक्ष स्कट पेरीलाई पराजित गरेका छन्।

भर्जिनियामा पनि डेमोक्रेटिक पार्टीले उल्लेखनीय सफलता पाएको छ। पूर्व सांसद एलेन लुरियाले रिपब्लिकन सांसद जेन किगन्सलाई हराउँदै आफ्नो पुरानो सिट पुनः प्राप्त गरेकी छन्। त्यस्तै, रिचमन्डनजिकैको क्षेत्रमा डेमोक्रेटिक उम्मेदवार श्यानन टेलरले लामो समयदेखि सांसद रहेका रिपब्लिकन नेता रोब विटम्यानलाई पराजित गरेका छन्।

न्यु जर्सीका रिपब्लिकन सांसद टम किन जुनियर पनि पुनर्निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार रेबेका बेनेटसँग पराजित भएका छन्। युक्रेनमा जन्मिएर अमेरिकी कंग्रेसमा पुग्ने पहिलो सांसद भिक्टोरिया स्पार्ट्ज पनि पराजित भएकी छन्। उनले यसअघि ट्रम्प र रिपब्लिकन नेतृत्वसँग पटक–पटक मतभेद राख्दै आएकी थिइन्। कोलोराडोमा डेमोक्रेटिक राज्य सांसद म्यानी रुटिनेलले रिपब्लिकन सांसद गेभ इभान्सलाई ठूलो मतान्तरले हराएका छन्।

यस निर्वाचनमा डेमोक्रेटिक पार्टीका लागि सबैभन्दा महत्त्वपूर्ण जितमध्ये एक रिपब्लिकन सांसद रिचर्ड हडसनमाथि रिचर्ड ओजेडा द्वितीयको विजय रहेको छ। हडसन प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको चुनावी अभियान सञ्चालन गर्ने निकायका अध्यक्ष थिए। उनको जिम्मेवारी रिपब्लिकन सांसदहरूको सिट जोगाउनु र पार्टीको बहुमत कायम राख्नु थियो।

डेमोक्रेटिक पार्टीको यो जितलाई ट्रम्पका अलोकप्रिय नीतिविरुद्धको जनमतका रूपमा हेरिएको छ। विशेषगरी आप्रवासनमाथिको कडा नियन्त्रण, आठ महिनादेखि जारी इरान युद्ध तथा अमेरिकाका सहयोगी राष्ट्रहरूमाथि लगाइएको भन्सार शुल्कका कारण पेट्रोल, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य बढेको विषयले निर्वाचनमा प्रभाव पारेको विश्लेषण गरिएको छ।

आगामी जनवरी ३ देखि डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नेतृत्व सम्हाल्नेछ। यससँगै ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक उनले कंग्रेसका दुवै सदनमाथि आफ्नो पार्टीको पूर्ण नियन्त्रण गुमाउनेछन्।

ह्वाइट हाउस फर्किएपछि ट्रम्पले कार्यकारी अधिकारको सीमासमेत परीक्षण गर्दै आएका थिए। उनले सरकारी दक्षता विभागमार्फत संघीय निकायहरू पुनर्संरचना तथा खारेज गर्ने, एकपक्षीय रूपमा व्यापक भन्सार शुल्क लगाउने र कंग्रेसबाट स्वीकृत बजेट कटौती गर्ने काम गरेका थिए। तर, रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभा र सिनेटले अधिकांश अवस्थामा ती कदमप्रति प्रभावकारी प्रतिरोध गरेका थिएनन्।

प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका नेता तथा न्युयोर्कका सांसद हाकिम जेफ्रिज जनवरी ३ मा सभामुख निर्वाचित भए इतिहास रच्नेछन्। उनी अमेरिकी प्रतिनिधिसभाको पहिलो अश्वेत सभामुख बन्ने अपेक्षा गरिएको छ।

निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा वासिङ्टनमा आयोजित विजय उत्सवमा जेफ्रिज प्रवेश गर्दा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। कार्यक्रममा द नटोरियस बीआईजीको ‘अनबिलिभेबल’ गीत बजाइएको थियो।

समर्थकहरूलाई सम्बोधन गर्दै जेफ्रिजले मध्यावधि निर्वाचनको परिणामले अमेरिकी जनताले आमूल परिवर्तन चाहेको स्पष्ट पारेको बताए।

उनले भने, “आजबाट अमेरिकाको महान् पुनरागमन सुरु भएको छ। उत्तर, दक्षिण, पूर्व, पश्चिम र मध्य अमेरिकासहित देशभरका जनताले आफ्नो निर्णय सुनाएका छन्। उनीहरूले अतिवाद र भ्रष्टाचार अब पर्याप्त भएको स्पष्ट सन्देश दिएका छन्।”

उनले डेमोक्रेटिक पार्टीले जनवरीदेखि प्रतिनिधिसभाको नेतृत्व सम्हालेपछि अमेरिकी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

नयाँ बहुमतसँगै डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाका विभिन्न समितिको नेतृत्वसमेत प्राप्त गर्नेछ। यसले ट्रम्प प्रशासन, उनको परिवार तथा व्यावसायिक गतिविधिबारे अनुसन्धान गर्ने र आवश्यक परे सम्बन्धित व्यक्तिलाई बयानका लागि बोलाउने अधिकार प्रदान गर्नेछ।

यसबाट ट्रम्प र उनका सहयोगीहरूलाई सार्वजनिक सुनुवाइ तथा कानुनी चुनौतीको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ। ट्रम्पको पहिलो कार्यकालमा जस्तै केही डेमोक्रेटिक सांसदले उनलाई तेस्रोपटक महाभियोग लगाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा पार्टीभित्र राजनीतिक रूपमा उपयुक्त हुने वा नहुने भन्ने बहस जारी छ।

जेफ्रिजले महाभियोगका विषयमा कुनै पनि विकल्प खुला रहेको बताएका छन्। उनले महाभियोगबारे आफूहरूले कुनै निर्णय गरिनसकेको र कुनै सम्भावनालाई अस्वीकार पनि नगरेको स्पष्ट पारे।

क्यालिफोर्नियाका सांसद रोबर्ट गार्सिया जनवरीदेखि शक्तिशाली ओभरसाइट कमिटीको अध्यक्ष बन्ने तयारीमा छन्। उनले आफ्नो समितिले ट्रम्प परिवारसँग सम्बन्धित भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने बताएका छन्। विशेषगरी ट्रम्पका क्रिप्टोकरेन्सीसम्बन्धी व्यावसायिक गतिविधिमा समितिले चासो दिनेछ। ती गतिविधिबाट ट्रम्पले एक अर्ब डलरभन्दा बढी आम्दानी गरेको बताइएको छ।

त्यसैगरी, अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) र होमल्यान्ड सेक्युरिटी विभागबाट भएका भनिएका अधिकार दुरुपयोग, कर्पोरेट क्षेत्रको भ्रष्टाचार तथा जेफ्री एपस्टिनसँग सम्बन्धित कागजातमाथि पनि अनुसन्धान गरिने गार्सियाले बताएका छन्।

अनुसन्धानबाहेक प्रतिनिधिसभामा सामान्य बहुमतका आधारमा विधेयक पारित गराउने अधिकार पनि डेमोक्रेटिक पार्टीसँग हुनेछ। जेफ्रिजले पार्टीले मुख्य रूपमा चार विषयलाई प्राथमिकता दिने बताएका छन्।

तीमध्ये ट्रम्प प्रशासनले मेडिकेड स्वास्थ्य कार्यक्रममा गरेको बजेट कटौती उल्ट्याउने, अफोर्डेबल केयर एक्टअन्तर्गतका कर छुट तथा अनुदानलाई निरन्तरता दिने, भन्सार शुल्कसम्बन्धी अधिकार पुनः कंग्रेसको नियन्त्रणमा ल्याउने र इरानसँगको युद्ध रोक्ने विषय रहेका छन्।

निर्वाचनअघि डेमोक्रेटिक पार्टीको चुनावी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जेफ्रिजले अनुसन्धानलाई अनावश्यक रूपमा अघि बढाउने नभई तथ्य, कानुन र संविधानका आधारमा काम गर्ने बताएका थिए।

प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको जितले रिपब्लिकन सभामुख माइक जोन्सनलाई पनि ठूलो धक्का लागेको छ। पछिल्लो तीन वर्षदेखि रिपब्लिकन पार्टीको नेतृत्व गर्दै आएका जोन्सनले अल्पमतको नेता बनेर जिम्मेवारी निरन्तरता दिने वा पद छाड्ने भन्ने विषय अझै स्पष्ट भएको छैन। उनले पद छाडेमा रिपब्लिकन पार्टीभित्र नयाँ नेता चयनका लागि प्रतिस्पर्धा हुनेछ।

डेमोक्रेटिक पार्टीले सन् २०२२ मा गुमाएको बहुमत पुनः प्राप्त गर्न केवल तीन सिट थप जित्नुपर्ने अवस्था थियो। यसका साथै ट्रम्पको कमजोर लोकप्रियता पनि रिपब्लिकन पार्टीको पराजयको प्रमुख कारण बनेको विश्लेषण गरिएको छ।

अमेरिकी राजनीतिक इतिहासमा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको पार्टीले सामान्यतया सिट गुमाउने गरेको छ। आधुनिक राजनीतिक इतिहासमा सन् १९९८ र २००२ मा मात्रै यो प्रवृत्ति उल्टिएको थियो। सन् १९९८ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने रिपब्लिकन प्रयासप्रति मतदाताले असन्तुष्टि जनाएका थिए। त्यस्तै, सन् २००२ मा सेप्टेम्बर ११ को आतंकवादी हमलापछि राष्ट्रपति जर्ज डब्ल्यु बुसप्रति जनसमर्थन बढेको थियो।

यसपटक प्रतिनिधिसभाको नियन्त्रणका लागि भएको प्रतिस्पर्धा मुख्यतः रिपब्लिकन पार्टीको प्रभाव क्षेत्रमै केन्द्रित थियो। निर्वाचनअघि डेमोक्रेटिक पार्टीसँग २१५ सिट थिए। तीमध्ये १२ वटा सिट प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका थिए।

निर्वाचन क्षेत्र पुनर्निर्धारणसम्बन्धी विवादले पनि यसपटकको चुनावी प्रतिस्पर्धामा महत्त्वपूर्ण भूमिका खेलेको थियो। ट्रम्पले सन् २०२५ को गर्मीयाममा टेक्सासका रिपब्लिकन नेताहरूलाई निर्वाचन क्षेत्रको नक्सा पुनर्निर्धारण गर्न आग्रह गरेका थिए। त्यसबाट पार्टीले थप पाँच सिटसम्म जित्न सक्ने उनको अपेक्षा थियो।

त्यसपछि फ्लोरिडा, नर्थ क्यारोलाइना, टेनेसी, अलाबामा, लुइजियाना र मिसौरीलगायतका राज्यमा पनि रिपब्लिकन पार्टीले आफ्नो पक्षमा बढी सिट जित्ने उद्देश्यले निर्वाचन क्षेत्रको सीमा परिवर्तन गरेको थियो।

तर, डेमोक्रेटिक पार्टीले क्यालिफोर्नियामा यसको प्रतिकार गरेको थियो। गभर्नर गेभिन न्युजम, पूर्व सभामुख न्यान्सी पेलोसी र अन्य नेताहरूले प्रस्ताव नम्बर ५० का पक्षमा समर्थन जुटाएका थिए। उक्त प्रस्तावमार्फत डेमोक्रेटिक पार्टीले तयार पारेको नयाँ निर्वाचन क्षेत्रको नक्सा स्वीकृत भएको थियो। यसले डेमोक्रेटिक पार्टीलाई रिपब्लिकनले जित्दै आएका केही सिट प्राप्त गर्न सहयोग पुर्‍याएको थियो।

दक्षिणी क्षेत्रमा रिपब्लिकन पार्टीले अश्वेत बहुल डेमोक्रेटिक निर्वाचन क्षेत्रका केही सिट जित्न सफल भए पनि मिसौरीमा रिपब्लिकन पार्टीले तयार पारेको नयाँ निर्वाचन क्षेत्रको नक्सालाई अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको थियो। यसबाट लामो समयदेखि डेमोक्रेटिक सांसद इमानुएल क्लिभरले प्रतिनिधित्व गर्दै आएको कन्सास सिटी क्षेत्रको सिट सुरक्षित रह्यो।

निर्वाचनअघि जेफ्रिजले एमएजीए अतिवादीहरूको निर्वाचन क्षेत्र हेरफेरमार्फत जनताको मताधिकार कमजोर बनाउने प्रयासविरुद्ध डेमोक्रेटिक पार्टीले आक्रामक रूपमा प्रतिरोध गर्ने बताएका थिए।

उनले निर्वाचन क्षेत्र पुनर्निर्धारणसम्बन्धी संघर्ष अझै नसकिएको उल्लेख गर्दै आगामी कंग्रेसमा पनि यसलाई निरन्तरता दिने बताए। भविष्यमा राष्ट्रपतिबाट स्वीकृत हुने कानुनमार्फत कार्यकालको बीचमा राजनीतिक स्वार्थअनुसार निर्वाचन क्षेत्रको सीमा परिवर्तन गर्ने अभ्यास अन्त्य गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।
अन्तराष्ट्रियसञ्चारमाध्यमको सहयोगमा

NECO

Leave Your Comment

Related News