Global College

पहिलो त्रैमासिमा युनिलिभरको आम्दानी बढे पनि बाढी राहत सहयोग र बढ्दो लागतले खुद नाफा १६ प्रतिशतले घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी बढे पनि खुद नाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२ प्रतिशतले बढेको छ। गत आवको सोही अवधिमा २ अर्ब ३ करोड ७० लाख रुपैयाँ रहेको आम्दानी १२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

यता, कम्पनीको खुद नाफा भने १६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद मुनाफामा कमी आउनुमा मुख्यतया दुईवटा कारणहरू रहेको कम्पनीले जनाएको छ। गत अगस्ट २६ मा गएको भोटेकोशी बाढीका पीडितहरूको राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ नगद र करिब १ करोड रुपैयाँ बराबरका अत्यावश्यक घरायसी तथा व्यक्तिगत सरसफाइका सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको थियो। दोस्रो, कच्चा पदार्थको लागतमा देखिएको निरन्तरको मूल्यवृद्धि र प्रतिकूल बिक्री मिश्रणका कारण व्यावसायिक लागत बढेर नाफामा दबाब पुगेको कम्पनीको भनाइ छ।

चालु आवमा कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ। यसमध्ये कच्चा पदार्थ तथा सामग्री उपभोगमा मात्रै १ अर्ब ३० करोड २० लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी, कर्मचारी सुविधामा १८ करोड ३८ लाख र अन्य खर्चमा ३४ करोड १३ लाख रुपैयाँ खर्च भएको वित्तीय विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी २७४ रुपैयाँ रहेको छ।  प्रतिसेयर आम्दानी १ हजार ६७८ रुपैयाँ छ। कम्पनीको प्रतिसेयर नेटवर्थ पनि घटेर ५ हजार ८३० रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासमा ६ हजार ३ रुपैयाँ थियो। युनिलिभरको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ, सञ्चित मुनाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ र कुल दायित्व २ अर्ब ७० करोड २५ लाख रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News