Global College

आईएमई लाइफको खुद नाफा १२.११ प्रतिशतले घट्यो, बीमाशुल्क आर्जन ४० प्रतिशतले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड १२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा १२.११ प्रतिशतले घटेको हो।

यता, कम्पनीको बीमाशुल्क आर्जनमा भने उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल खर्च पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ८२ करोड २० लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ४२ करोड २ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ३० पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ रुपैयाँ ६७ पैसा थियो।

वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति २८ अर्ब २७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र कुल इक्विटी ६ अर्ब ९५ करोड ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीको जीवन बीमा कोष १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.५९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात २.२२८ रहेको थियो।

कम्पनीले समीक्षा अवधिमा ६३ हजार २ जनालाई नयाँ बीमालेख जारी गरेको छ। हाल कम्पनीको कुल बीमालेख संख्या ५ लाख २३ हजार १८७ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News