Global College

निर्जीवन बीमा कम्पनीहरुको त्रैमासिक वित्तीय विवरण: अधिकांश कम्पनी घाटामा, कुल घाटा १ अर्ब २७ करोड नाघ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। तथ्यांकअनुसार सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको समग्र वित्तीय स्थिति घाटामा रहेको छ। निर्जीवन बीमा कम्पनीहरूको खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो।

सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले धेरै नाफा कमाएका छन् ।  राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको यो कम्पनीले यस वर्ष उल्लेख्य सुधार गर्दै नाफा कमाउन सफल भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको छ। शिखर इन्स्योरेन्सले ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको शिखर इन्स्योरेन्स यस वर्ष नाफामा फर्किएको छ।

यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नेशनल इन्स्योरेन्सको नाफामा भने भारी गिरावट आएको छ। गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।

अर्कोतर्फ, ८ वटा कम्पनीको नाफा ऋणात्मक (घाटामा) रहेको छ। युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँ घाटामा रहेका छन्।

सानिमा जिआईसी इन्स्योरेन्सको घाटा बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा थियो।

त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ। यस अवधिमा सबैभन्दा कमजोर वित्तीय अवस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ। गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफामा रहेको यो कम्पनी चालू आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ।

NECO

Leave Your Comment

Related News