काठमाडौं । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो।
गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्। उनले उक्त प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सरकार सफल भएको उल्लेख गरेका छन्।
गृहमन्त्री गुरुङका अनुसार धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वी नेपालका सहकारी पीडित बचतकर्ताको समस्याबारे जानकारी पाएका थिए।
अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका प्रयासमा तत्कालै पीडितलाई न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि यस प्रकरणको अनुसन्धान र आरोपितको खोजीलाई तीव्रता दिइएको उनले बताएका छन्।
बराह सहकारीमा भएको ठूलो रकम हिनामिनाबाट प्रभावित बचतकर्तालाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेका छन्। घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनाबाट पूर्वी नेपालका ठूलो संख्याका बचतकर्ता प्रभावित भएका छन्। मुख्य योजनाकार भनिएका विश्वकर्माको पक्राउसँगै सहकारीको रकम अपचलनमा अन्य व्यक्तिको संलग्नता र रकमको अवस्थाबारे थप तथ्य अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।
यस प्रकरणमा बचतकर्ताको रकम फिर्ता, अन्य आरोपितको पहिचान र हिनामिना भएको रकमको खोजी अब मुख्य चासोका विषय बनेका छन्।




