Global College

तोकिएको समयमा राफसाफ नगरेपछि बेनी सेक्युरिटिजको कारोबार ३ दिनका लागि निलम्बन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) बेनी सेक्युरिटिज प्रा. लि. को कारोबार ३ कार्य दिनका लागि निलम्बन गरेको छ। बानेश्वर, काठमाडौंमा कार्यालय रहेको उक्त कम्पनीले तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौटको कार्य नगरेको पाइएपछि नेप्सेले कारबाहीस्वरूप कारोबार रोक्का गरेको हो।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले २०८३ भदौ ३ गते पत्र पठाउँदै बेनी सेक्युरिटिजले समयमै राफसाफ नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम ३ कार्य दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

नेप्सेको सुपरीवेक्षण शाखाले बेनी सेक्युरिटिजलाई पठाएको पत्रअनुसार निलम्बनसम्बन्धी उक्त निर्णयको बोधार्थ नियामक निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका साथै नेप्सेको प्रमुख कार्यकारी अधिकृतको सचिवालय र प्रणाली सञ्चालन शाखालाई समेत दिइएको छ ।

NECO

Leave Your Comment

Related News