काठमाडौं । भारतको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभकामना सन्देशमार्फत राष्ट्रिय खेलकुदको अनियमितता तथा ढिलासुस्ती अन्त्य गरी नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्। हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भए पनि अहिलेसम्म नौवटा मात्र संस्करण हुनु दुःखद रहेको औँल्याउँदै उनले अब प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा सञ्चालन र स्तरोन्नति गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने स्पष्ट पारेका छन्।
सन्देशमा प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुने उल्लेख गरेका छन्। कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुने उनले जानकारी दिएका छन्।
पहिलोपटक यति ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको कर्णालीका लागि यो अवसर नयाँ खेलाडीको पहिचान, प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा महत्त्वपूर्ण साबित हुने प्रधानमन्त्री शाहको विश्वास छ। खेलकुदकै माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन पनि प्रतियोगिताले सघाउ पुर्याउने उनले उल्लेख गरेका छन्।
अन्त्यमा उनले दशौँ राष्ट्रिय खेलकुदले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भाव थप सुदृढ बनाउन प्रेरणा देओस् भन्दै “जय कर्णाली ! जय खेलकुद ! जय जय नेपाल !” भनेर सन्देश टुङ्ग्याएका छन्।



