काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आठ टोलीका कप्तानका लागि फरक–फरक अनुभवसहित सकिएको छ । कसैले आफ्नो टोलीलाई पहिलोपटक च्याम्पियन बनाए भने कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए । केही कप्तानले टोलीलाई प्लेअफसम्म पुर्याउन सफल भए भने केहीका लागि प्रतियोगिता सुखद रहन सकेन ।
तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो । शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन बन्यो । टोलीको सफलतामा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन महत्वपूर्ण रह्यो । ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए भने बलिङतर्फ सात विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्दै उनले कप्तानका रूपमा टोलीलाई ऐतिहासिक उपाधि दिलाए ।
उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पनि आफ्नो नेतृत्व क्षमता देखाए । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्न सफल भयो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका रोहितले यसपटक पनि राम्रो प्रदर्शन गरे ।
काठमाडौं गोर्खाजका कप्तान करण केसीका लागि पनि यो संस्करण सफल रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो । करणले आठ खेलमा १० विकेट लिनुका साथै ब्याटिङबाट ९० रन जोडे ।चितवन राइनोजले अनुभवी अलराउन्डर सिकन्दर रजाको कप्तानीमा प्रतियोगिता खेलेको थियो । उनको नेतृत्वमा टोली प्लेअफसम्म पुग्न सफल भयो । तर, व्यक्तिगत प्रदर्शनमा भने रजा त्यति प्रभावकारी देखिएनन् । उनले पाँच खेलमा ५६ रन बनाउँदा पाँच विकेट लिए ।
कर्णाली याक्सले प्रतियोगिताको बीचमै कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर विदेशी खेलाडी डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइएको थियो ।
सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनले १० विकेट लिए । त्यस्तै, पहिलोपटक एनपीएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए । उनको सर्वाधिक स्कोर अविजित ९३ रन रह्यो ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने तेस्रो संस्करण सुखद हुन सकेन । उनको कप्तानीमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।
पोखरा एभेन्जर्सले पनि प्रतियोगिताको बीचमै कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए । तर, खराब प्रदर्शनपछि लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।
कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए भने बलिङमा छ विकेट लिए । नयाँ कप्तान करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिए ।
जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा हरमितले राम्रो प्रभाव छाडे । उनले सात खेलमा ११ विकेट लिनुका साथै ब्याटिङमा ९० रन बनाए ।
यसरी एनपीएलको तेस्रो संस्करणमा केही कप्तानले टोलीलाई सफलता दिलाए भने केही कप्तान व्यक्तिगत प्रदर्शनमा राम्रो देखिए पनि टोलीलाई अपेक्षित नतिजा दिलाउन असफल भए ।



