काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्। सोमबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्रीद्वयले भर्चुअल माध्यमबाट आयोजनाको शिलान्यास गरेका हुन्।
लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबका अनुसार आयोजनाको भर्चुअल शिलान्यास भारतबाट भए पनि भौतिक रूपमा भने नेपालमै कार्यक्रम आयोजना गरिनेछ। उनका अनुसार तल्लो अरुण आयोजना अब निर्माणको चरणमा प्रवेश गरेको छ।
सरकारले सन् २०१८ मा आयोजना गरिएको लगानी सम्मेलनमा तल्लो अरुणलाई सोकेस परियोजनाका रूपमा प्रस्तुत गरेको थियो। आयोजना निर्माणका लागि सतलज जलविद्युत् निगम (एसजेभीएन), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना र जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनीसहित तीन कम्पनीले इच्छा देखाएका थिए।
प्रस्ताव आह्वान गरिएकामध्ये एसजेभीएन र पावर चाइनाले मात्रै प्रस्ताव पेस गरेका थिए। दुवै कम्पनीले नेपाललाई २० प्रतिशतभन्दा बढी विद्युत् ऊर्जा निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७७ माघ १६ गते बसेको लगानी बोर्डको ४६औँ बैठकले आयोजना निर्माणको जिम्मा एसजेभीएनलाई दिने निर्णय गरेको थियो।
आयोजना विकासका लागि २०७८ असार २७ गते समझदारी भएको थियो भने २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता (पीडीए) सम्पन्न भएको थियो।
भारतीय कम्पनी एसजेभीएनले नेपालमा विभिन्न जलविद्युत् आयोजनामा लगानी गरिरहेको छ। तल्लो अरुण आयोजनाको शिलान्याससँगै नेपाल–भारत ऊर्जा सहकार्यले थप गति लिने अपेक्षा गरिएको छ।



