काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।
सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीद्वयले स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन्।
शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुन लागेको ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।
त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। उक्त परियोजना सञ्चालनमा आएसँगै भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलसमेत नेपाल आउन थालेको छ।
यी परियोजनाले नेपाल र भारतबीचको ऊर्जा, यातायात तथा व्यापारिक पूर्वाधार सम्पर्कलाई थप विस्तार र सुदृढ बनाउने अपेक्षा गरिएको छ।



