काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाइएको जनाएको छ। बीमा क्षेत्रलाई पारदर्शी, विश्वसनीय र बीमितमैत्री बनाउन विभिन्न नियामकीय तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको प्राधिकरणले स्पष्ट पारेको हो।
प्राधिकरणले सूचना जारी गर्दै बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रबमोजिम बीमकले तोकिएको समयसीमाभित्र बीमा दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। साथै, बीमितलाई सहज रूपमा सेवा उपलब्ध गराउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत आवश्यक सहजीकरण भइरहेको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाविपरीत दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले आवश्यक प्रमाणसहित प्राधिकरणमा उजुरी दिन सक्नेछन्।
दाबी भुक्तानीमा समस्या भोगेका बीमितले सम्बन्धित कागजात तथा प्रमाणसहित प्राधिकरणसमक्ष आफ्नो गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ। त्यस्ता गुनासोको आवश्यक छानबिन तथा सहजीकरण गरी समस्या समाधान गर्ने प्राधिकरणको भनाइ छ।
यसैगरी, हेलो सरकारमार्फत प्राप्त हुने बीमासम्बन्धी गुनासोलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। पछिल्लो व्यवस्थाले बीमा दाबी भुक्तानीमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्दै बीमितको अधिकार संरक्षण र बीमा क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।



