काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउन तथा स्वास्थ्य सुरक्षा प्रणालीलाई सुदृढ बनाउन ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग निरन्तर जारी राखेको जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, बाढीपीडितहरूको आपत्कालीन राहतका लागि युनिसेफमार्फत २५ लाख अमेरिकी डलर विनियोजन गरिएको छ। अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट उपलब्ध गराइएको उक्त रकम बालबालिका तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवामा खर्च गरिनेछ। यसका अतिरिक्त बाढीबाट अति प्रभावित जिल्लाहरूमा खोप सेवा तथा भण्डारण व्यवस्था पुनःस्थापना गर्न अमेरिकाले १ लाख ७६ हजार डलरसमेत प्रदान गरेको छ।
यसैगरी, ‘अमेरिका फर्स्ट विश्वव्यापी स्वास्थ्य रणनीति’ अन्तर्गत अमेरिकाले युनिसेफकै साझेदारीमा नेपालको मातृ तथा बाल स्वास्थ्य र पोषण सुधारका लागि थप १ करोड २० लाख अमेरिकी डलर (१२ मिलियन डलर) लगानी गरिरहेको छ। उक्त लगानीले स्वास्थ्य संस्थाहरूमार्फत स्तनपान प्रवर्द्धन गर्न, शिशु आहारमा सहयोग पुर्याउन तथा आवश्यक भिटामिन र खनिजयुक्त पूरक आहारको प्रयोग सुरु गर्न मद्दत पुग्ने बताइएको छ। साथै, यसै सहयोगबाट ‘राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षण’ सञ्चालन गरी पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख छ।
यस्ता रणनीतिक लगानीहरूले विपद्पछिको पुनर्लाभ र जनस्वास्थ्यको रक्षा गर्दै अमेरिका र नेपाल दुवै देशलाई थप सुरक्षित र समृद्ध बनाउने विश्वास अमेरिकाले व्यक्त गरेको छ।



