काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि मङ्सिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरहरूमा बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
सूचनाअनुसार बलम्बु/थानकोट फिडरअन्तर्गतको बल्खु खोला पुल र नैकाप क्षेत्रमा मङ्सिर ३, ६ र ८ गते विद्युत् कटौती हुनेछ भने सोही फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म मङ्सिर ११ गते लाइन बन्द गरिनेछ। यस्तै, थानकोट फिडरको बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्म मङ्सिर १३ गते विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
त्यसैगरी, धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि सिफल ग्राउण्डसम्म मङ्सिर ४ गते तथा सिफल ग्राउण्डदेखि कालोपुलसम्म मङ्सिर १० र १४ गते बत्ती जानेछ। कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा मङ्सिर ५ गते विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
यता कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए मा मङ्सिर ७ गते विद्युत् आपूर्ति बन्द हुनेछ। साथै, कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ मा मङ्सिर ९ गते तथा ईडीटीआर ८ए र ईडीटीआर ८ मा मङ्सिर १२ गते लाइन काटिनेछ। मौसम प्रतिकूल रहेमा भने उल्लिखित तालिका रद्द हुने र ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको प्राधिकरणले स्पष्ट पारेको छ।




